राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा रास्वपा छोडेको जानकारी दिँदै उनले लेखेकी छन् – ,’ कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएको बताएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन् ।
सुशीला कार्की नेतृत्वको क्याबिनेटमा उनी मन्त्री बन्ने हल्ला पार्टीभित्रैबाट चलेपछि उनले आफू त्यस दौडमा नरहेको बताएकी छिन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी श्रेष्ठ प्रधानमन्त्रीको सपथ समारोहमा सामेल पनि भएकी थिइन् ।