झापामा आदिबासी रँगशाला निर्माण बिबाद सहमती नजिक

पढ्न समय: 5 मिनेट

कमल गाउँपालिका ५ पाडाजुँगीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न विवादित दुई समूह सहमति नजिक पुगेका छन् । हाल ‘आदिवासी रंगशाला’ को नाम परिवर्तन गर्न नदिने तथा उक्त नामको सट्टा ‘मदन भण्डारी’ राख्ने भन्ने पक्षबीच विवाद छ ।

यो खबर कान्तिपुर दैनिकका लागि अर्जुन राजवँशीले लेखेका हुन् ।

- Advertisement -
Ad image

वादका कारण ६ वर्षयता रंगशालाको निर्माण कार्य अवरुद्ध छ । गाउँमा आउन लागेको विकासलाई फर्काउन नहुने पक्षमा विवादित दुवै पक्ष सहमत छन् । उक्त सहमतिका आधारमा रंगशालाको नामका विषयमा रहेको विवाद अन्त्यका लागि पहल थालिएको छ ।
वर्षौंदेखि गौचरन बनेको रंगशालाको ‘नामकरण’ को विवाद टुंग्याउन विवादित दुवै पक्ष सहमति नजिक पुगेका हुन् ।विवाद अन्त्यका लागि आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बाक्लो छलफलमा जुटेका हुन् । विवाद अन्त्यका लागि प्रतिष्ठानले केही सर्त राखेको छ । उक्त सर्त नेकपाका नेताको पहलमा प्रधानमन्त्री केपी ओली समक्ष प्रस्तुत गरिएको थियो ।
चैत १७ गते गृहनगर दमक आएका बखत प्रधानमन्त्री ओलीले संवादमा जुटेका दुवै पक्षसँग संयुक्त छलफल समेत गरेका थिए । छलफलमा प्रतिष्ठानले राखेका सर्तप्रति प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।
आदिवासी रंगशालाको निर्माण कार्य ०६६ देखि सुरु गरिएको थियो । रंगशाला निर्माणका लागि पाडाजुँगीस्थित किराँत समुदायको समाधिस्थलका ७ सय ४५ वटा कपुरथान (चिहान घर) उत्खनन गरिएका थिए । सुरुमा ‘आदिवासी रंगशाला’ बनाउने भनेपछि स्थानीयबासी आफ्ना पितृको चिहान घर भत्काउन सहमत भएका थिए । तर, सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेट भाषणमा ‘आदिवासी’ को नाम हटाएर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’ को नाममा बजेट विनियोजन गरेपछि प्रतिष्ठान तथा स्थानीय आदिवासी जनजाति समुदाय आन्दोलित बनेको थियो ।
त्यसपछिका सबै सरकारले मदन भण्डारी रंगशालाकै नाममा बजेट विनियोजन गर्दै आएको छ । जबरजस्ती नाम परिवर्तन गरेको भन्दै प्रतिष्ठान र स्थानीय आन्दोलित बनेपछि रंगशालाको नाममा विनियोजन हुँदै आएको वार्षिक बजेट फ्रिज हुने गरेको छ ।बजेट फ्रिज भएपछि रंगशालाको निर्माण कार्य अघि बढ्न सकेको छैन । पछिल्लो समय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले तीन वटा सर्त अघि सारेको छ । प्रतिष्ठानले आफ्ना सर्त पूरा गर्न सरकार सहमत भए मदन भण्डारीकै नाममा रंगशाला निर्माण गर्न दिने निर्णय गरेको छ ।
प्रतिष्ठानले रंगशालासंँगै १५ बिघा क्षेत्रफलमा अत्याधुनिक आदिवासी संग्रहालय र आकर्षक स्मृति पार्क तथा करिब ३ सय २४ बिघा क्षेत्रफलमा किराँत समुदायको समाधिस्थलसहितको धार्मिक वन सरकारले निर्माण गरिदिनुपर्ने सर्त राखेको छ । संग्रहालय, स्मृति पार्क र धार्मिक वनको निर्माणपछिको सम्पूर्ण भोगाधिकार प्रतिष्ठानले पाउनुपर्ने सर्त समेत राखेको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
विवाद समाधानका लागि प्रतिष्ठान र नेकपाका नेताको ११ सदस्यीय मनिटरिङ कमिटी निर्माण गरिएको छ । ‘हामीले मनिटरिङ कमिटीसँगको छलफल तथा प्रधानमन्त्रीसंँगको भेटमा हाम्रा सर्तहरू स्पष्ट रूपमा राखेका छौं’ राईले भने, ‘संग्रहालय र स्मृति पार्क बनाउन प्रधानमन्त्री सहमत हुनु भएको छ । धार्मिक वनको क्षेत्रफल र भोगाधिकारको विषयमा प्रधानमन्त्रीले अझै स्पष्ट जवाफ दिनु भएको छैन ।’ उनले सर्त पूरा नभए आदिवासी रंगशालाको अडानबाट पछि हट्ने अवस्था नरहने बताए ।
आइतबार दमकमा प्रदेशस्तरीय वाङमय सङ्गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आदिवासी जनजाति समुदाय सहमतिमा आएको खण्डमा पाडाजुँगीमा करिब १० अर्बको लगानीमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने बताएका थिए । उनले विवाद समाधान गरी सहमतिमा आउन सबै पक्षलाई आग्रह गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य एवं मनिटरिङ कमिटीका संयोजक देवेन्द्र दाहालले प्रतिष्ठान सहमति नजिक आइसकेको दाबी गरे । उनले प्रतिष्ठानको सर्तप्रति प्रधानमन्त्री समेत सकारात्मक रहेकाले मदन भण्डारी रंगशालाको निर्माण कार्य चाँडै नै सुरु हुने बताए ।कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले पटकपटकको संवादपछि वर्तमान अवस्थासम्म आइपुगेकाले यसलाई अन्तिम सहमतिमा पुर्‍याइछाड्ने बताइन् ।
उनले प्रतिष्ठानको सर्तहरू पूरा गर्दै आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर रंगशाला निर्माणको कार्य सुरु गर्ने बताइन् ।प्रतिष्ठानले रंगशालासँगै स्मृति पार्क र संग्रहालयको निर्माण कार्य पनि सुरु हुनुपर्ने माग राखेको छ । आदिवासी रंगशालाको नाममा २८ बिघाभन्दा बढी जमिन छ । पाडाजुँडीस्थित साविक सशस्त्र प्रहरीको पाथीभरा गणका तत्कालीन गणपति एसपी गणेश ठाडामगरको अगुवाइमा रंगशाला निर्माणको कार्य सुरु गरिएको थियो ।
तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले रंगशालाको शिलान्यास गरेकी थिइन् । सरकारले आर्थिक वर्ष ०६७/६८ मा आदिवासी रंगशालाको नाममा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । आव ०७२/७३ मा सरकारले आदिवासी रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाको नाममा ४० लाखरुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *