Happy Tihar 2082

गौरीगञ्जबाट ठुलो परिणाममा तस्कर हुँदै : भारतमा समातियो तस्करको सामान

पढ्न समय: 3 मिनेट

भदौ १७ झापा : झापाको गौरीगञ्ज नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको भारतिय प्रहरीले पर्दाफास गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाँदै गरेको फर्सीको बिउँ लोड भएको चार वटा गाडीसहित ६ जना तस्करलाई पक्राउ गरेको कुरा भारतिय सञ्चार माध्यमले जनाएको छ ।

बिषेश सुचनाको आधारमा भारतीय एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले स्थानीयको सहयोगमा ७५ बोरा फर्सीको बिउँ, दुईवटा पिकअप भ्यान, दुई वटा ट्याक्टरसहित ६ जनालाई गएराति पक्राउ गरेको हो । एसएसबीका इन्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार नेपालबाट भारततर्फ बिउँ लगायत सामानको तस्करी भइरहेको सूचना प्राप्त भएको थियो।

- Advertisement -
Ad image

त्यही सूचनाको आधारमा लालापानी–खनियावाद सीमा नाकामा गएराति तस्करीहरूलाई गाडीसहित घेराउ गरी ठुलो मात्रामा बिउँ बरामद गरेको इन्स्पेक्टर कुमारले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। पक्राउ पर्नेमध्ये केहि नेपाली नागरिक भएको आशङ्का गरिएको छ। बरामद गरिएको बिउँ, चार वटा गाडीसहित ६ जनालाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइसकेको जनाइएको छ।

केही दिनअघि मात्र फत्तेहपुर पुलिस थाना टेढागाछले फर्सीको बिउँ र चाइनिज स्याउ बरामद गरेको थियो । सीमा नाकाबाट तस्करी धन्दा बढेसँगै त्यहाँका स्थानीय गाउँले राती सुत्न नै पाउँदैन थिए। रातको समयमा गाडीका गाडीका सरसामान ओहोरदोहोर गर्दा गाउँले समस्या भइरहेको उनीहरूले एसएसबीलाई गुनासो समेत पोखेका थिए।
भारतीय सुरक्षा निकायले बरामद गरेको लालापानी–खनियावाद सीमा नाका सँग जोडिएको गौरीगञ्जको कदमगाछी र खगुरगाछी नाका बाट विगत केही महिनादेखि नेपालबाट भारततर्फ पठाउने बिउँ, चाइनिज स्याउ, मरीच, पपकन, मटर लगायतको काम ठुलो मात्रामा भइरहेको श्रोतले जनाएको छ । भारतबाट नेपालतर्फ लत्ताकपडा लगायत विभिन्न सरसामान भन्सार छलेर दिनहुँ भित्रिरहेको थियो।
अन्नपुर्ण पोष्टले लेखेको समाचार अनुसार तिकर समूहले गौरीगञ्जका स्थानीय सशस्त्र र नेपाल प्रहरीसँग राम्रै सेटिङ मिलाएर विगत लामो समयदेखि रातको समयमा ट्याक्टर र पिकअपमै सरसामानको ओसारपसार गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जका डीएसपी सुमन थापाले भारतीय सुरक्षा निकायले नेपालबाट गएको बिउँसहितको गाडी र केही मान्छे पक्राउ परेको स्वीकारेका छन्। तर, गौरीगञ्जको सीमा नाकाबाट गएको हो वा मोरङको नाकाबाट भित्राएको बारेमा हामीले पनि अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘यस घटनाको बारेमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका गणपतिलाई जानकारी गराइसकेका छौँ।’
दक्षिण झापाको गौरीगञ्ज, झापा र मोरङको आमवारि, रङेली, नोचा, सोह्रघाट र सुनसरीको भान्टाबारी, कम्तानगञ्जतिरबाट पछिल्लो समयमा तस्करी धन्दा मौलाएपछि भारतीय सुरक्षा निकायले त्यसतर्फ चासो देखाए पनि नेपाल सुरक्षा निकाय भने मौन देखिएका छन्। जसकारण भन्सार कार्यालयहरू सुनसान बन्न थालिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्