असोज २८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी नेपाली काँग्रेसको नेतृत्व परिवर्तनको बिपक्षमा उभिएकी छन् । जेन जी आन्दोलन पछी देशभर काँग्रेस लगायतका दलहरुमा पुरानो नेतृत्वको औचित्य समाप्त भएको भन्दै नेतृत्व परिवर्तनको बहस शुरु भएको बेला गाउँपालिका अध्यक्ष राजवँशी परिवर्तनको बिपक्षमा उभिएकी हुन् ।
नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको मागसहित सुरु भएको हस्ताक्षर अभियानलाई उनले साथ नदिएको एक महाधिवेशन प्रतिनिधिले गौरीगञ्ज दर्पण डटकमलाइ बताए । यद्यपी झापाका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानलाइ बलियो साथ दिएका छन् । झापा जिल्ला कांग्रेसका हेभिवेट नेताहरूको गृह जिल्ला पनि हो । झापा क्षेत्र नँ ५ को मात्रै कुरा गर्ने हो भने २१ जना महाधिबेशन प्रतिनिधिहरुले नेतृत्व परिवर्तनको पक्षमा हस्ताक्षर गरेका छन् भने फुलबती राजवँशी सहित ६ जना बिपक्षमा उभिएका छन् ।
क्षेत्र नँ ५ मा ढुण्डीराज भण्डारी, सुरेश सुब्बा, विश्वदीप लिङ्देन, मेदेनीप्रसाद सिटौला, चन्द्रा खड्का, भूमिराज राई, हुकुमसिंह राई, निरज अग्रवाल, अइन्द्रविक्रम केरुङ, राजनबहादुर ढुंगाना, हेमन्त कार्की, अनिलकृष्ण प्रसाईं, रोहितकुमार साह, भूपालराज कटुवाल, लक्ष्मी बाह्रकोटी प्रसाईं, डा. नेत्र बुढाथोकी, अमर बराइली, टीकाराज सापकोटा, सत्यनारायण चौधरी, रमा लिम्बु,र मन्दरादेवी चिमरिया पौडेलले परिवर्तनको पक्षमा हस्ताक्षर गरेका छन् त्यस्तै फुलबती राजवँशी रेगिना भट्टराई प्रसाइ (दमक नगर उप प्रमुख )डा खगेन्द्र पान्डब अधिकारी बिक्रम अधिकारी तुलसा पन्त र महेन्द्रा सुब्बा ले हस्ताक्षर अभियानमा साथ नदिएको एक नेताले बताए ।
महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू, कृष्णप्रसाद सिटौला बिश्वदिप लिङदेन, लगायत केन्द्रीय नेतृत्वका प्रभावशाली नेताहरूको गृह जिल्ला झापामा दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग गर्दै हस्ताक्षर गरेका छन् ।
त्यस्तै कोशी प्रदेशबाट केन्द्रीय नेतृत्वमा प्रभाव राख्ने नेताहरू महामन्त्री शर्मा, शेखर कोइराला, बलबहादुर केसी लगायतका नेताहरू नेतृत्व परिवर्तनको पक्षमा उभिदा सिटौला, ज्ञानेन्द्र कार्कीलगायतका नेताहरू देउवाकै निरन्तरताको पक्षमा छन् । तर, परिवर्तनका पक्षधरहरूको पक्षमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिले आफूलाई उभ्याएका छन् ।
भदौ २३ र २४ को जेनजी विद्रोहपछि सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताहरूको औचित्य समाप्त भइसकेको भन्दै उनीहरूको बहिर्गमनको माग भइरहेको छ । कोशी प्रदेशका तराईका चार जिल्ला झापा, मोरङ, सुनसरी र उदयपुरमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि छन् ।
पहाडी जिल्लाहरूसहित कोशीबाट मात्रै दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफूलाई परिवर्तनको पक्षमा उभ्याएको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।
अहिले पनि हस्ताक्षर अभियान जारी रहेको नेताहरूको भनाइ छ । देशभर अहिले सम्म ५४ प्रतिशत महाधिबेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियानमा सहभागि भइ परिवर्तनको पक्षमा उभिएको कुरा गगन थापा निकट नेता तथा काँग्रेस बारा जिल्ला सचिब राजेश रौनियारले गौरीगञ्ज दर्पण डटकमलाइ बताए । उनका अनुसार बिशेष महाधिबेशनको माग सहित सँकलन गरिएका हस्ताक्षरहरु आज दिउसो पार्टीको केन्द्रिय कार्यालयमा बुझाउने कार्यक्रम रहेको छ ।
गौरीगञ्जका युवा नेता अग्रवाल परिवर्तनको पक्षमा
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी परिवर्तनको बिपक्षममा उभिदा गौरीगञ्जका युवा नेता निरज अग्रवाल भने नेतृत्व परिवर्तनको पक्षमा उभिएर हस्ताक्षर अभियानलाइ साथ दिएका छन् । क्षेत्र नँ ५ अन्तर्गत गौरीगञ्ज गाउँपालिकाबाट फुलबती राजवँशी र निरज अग्रवाल गरि दुइ जना महाधिबेशन प्रतिनिधि रहेका छन् ।
जेन जी आन्दोलन पछी काँग्रेस सहित का ठुला दलहरुमा पुरानो नेतृत्वको औचित्य माप्त भएको भन्दै नेतृत्व परिवर्तनको मुद्दा चर्को रुपमा उठिरहेको छ ।
