सिरहा – एसईईको चौथो दिन प्रश्नपत्र परीक्षा अगाडि नै बाहिरिएपछि प्रदेश दुईमा विज्ञान विषयकाे परीक्षा रद्द भएकाे खबर उज्यालो अनलाईनमा छ |
प्रदेश दुईका विभिन्न जिल्लमा बुधबार नै विज्ञान विषयकाे प्रश्नपत्र बाहिरिएकाे थियाे । सप्तरीमा एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको थियाे ।
एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको थियाे । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक सञ्जालमार्फत् शेयर गरेको पाइएको छ ।
श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै संलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।
त्यस्तै सिरहामा परीक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा १० जना परीक्षार्थीहरुलाई अनुगमन समितिले परीक्षा केन्द्रबाट निष्कासन गरेको छ । निष्कासनमा परेका सबै परीक्षार्थीको आजको विज्ञान विषयको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा समन्वय इकाई सिरहाले जनाएको छ ।
परीक्षा अनुगमन समितिले लहान नगरपालिकाको ब्रम्हान गोर्छारी परीक्षा केन्द्रबाट पाँच जना र पशुपति आदर्श मा.वि. परीक्षा केन्द्र लहानबाट ५ जना परीक्षार्थी निष्कासन गरिएको शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेयले जानकारी दिनुभयो ।
यो परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको केही मिनेटपछि नै प्रश्नपत्र इमोको माध्यमबाट बाहिरिएको जनाइएको छ । ब्रम्हान गोर्छारी परीक्षा केन्द्रभित्रै मोबाइल लगेका ३ जना र चिट चोरेको आरोपमा २ जना परीक्षार्थीलाई निष्कासन गरेको पाण्डेले बताउनुभयो ।
पशुपति मा.वि. परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादिन गतिविधिको आरोपमा ५ जना विद्यार्थी निष्कासन भएका छन् ।