भदौ २९, विराटनगर । मोरङ को बुढिगँगा गाउँपालिकामा एक १६ बर्षिया किशोरी लाई एक दिनका लागि गाउँपालिका अध्यक्ष पदमा नियुक्ति गरिएको छ ।‌ ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको हो । राष्ट्रिय बाल दिवसको अवसर पारेर एकदिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको हो ।


गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने नारालाई सार्थक बनाउन बुढिगंगा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा १६ वर्षीया सुनिता ऋषिदेव गाउँपालिका अध्यक्षमा नियुक्त भएका हुन् । राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा ऋषिदेवले मंगलबार दिनभरका गतिविधिमा प्रमुखको जिम्मेवारी सम्हाल्नेछिन् ।

बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिकालाई अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको बुढिगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए ।

बिज्ञापन


बुढिगंगा गाउँपालिकाले भदौ २८ गते सोमबार वुढीगंगा गाउँकार्यपालिकाको बैठकले राष्ट्रिय बाल दिवस मनाउने सन्दर्भमा एक दिन गाउँपालिकाको एक किशोरीलाई आर्थिक र प्रशासनिक अधिकार बहेक साङ्केतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आज बिहान १० बजेको कार्यालय सुरु भएपछि गाउँपालिका अध्यक्षबाट अध्यक्षकालागि छनौट भएकी बालिका ऋषिदेवलाई जिम्मेवारी दिएको पत्र सहित पदभार ग्रहण गराइएको थियो ।


बालबालिका सम्बन्धी निर्णयसँगै अध्यक्षको जिम्मेवारी पाएकी बालिका नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने कार्यक्रम रहेको छ । अनुगमन पश्चात् पालिकाका कर्मचारी जनप्रतिनिधिहरू र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरी अनुगमन सम्बन्धी धारणाहरूको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत बरालले बताए ।