
असार १२, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नँ ३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।
वडाध्यक्ष श्रेष्ठको शुक्रबार राति जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । गए राति सोहि काममा खटिएका जेसिबि चालकसँग उनको बिबाद भएको बुझिएको छ ।
राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बस्नु भएको थियो । शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भयो ।
विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले एक सरकारी सञ्चारमाध्यमलाई जानकारी दिएकाछन् । उनले घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको बताए ।
घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।