मदन राजवंशी मनप्रीत ।
असार २७ गौरीगञ्ज । आर्थिक बर्ष सकिनै लाग्दा चालु आर्थिक बर्षमा गौरीगञ्जमा शुरु भएका बिकास निर्माणका योजनाहरु अलपत्र पार्नेमा वडा नँ ३ अग्र स्थानमा देखिएको छ । आर्थिक बर्ष सकिन ३ दिन मात्र बाकी रहँदा गाउँपालिका भरी फरफारक हुन बाँकी ५५ वटा बिकास निर्माणका योजना मध्ये सबै भन्दा बढि २१ वटा योजनाहरु वडा नँ ३ कै छन् । जस मध्ये वडा नँ ३ मा अधिकाँश ठुला बजेट कै योजनाहरु नै अलपत्र परेका छन् । सो वडामा गाउँपालिका स्तरका ९ वटा र वडा स्तरका १२ वटा योजना अलपत्र परेको देखिन्छ ।
गौरीगञ्ज गाउँपालिकाले असार २० गते भित्र र महालेखा नियन्त्रक कार्यालयले असार २४ गते सम्म चालु योजनाहरु फरफारक गर्न सुचना जारी गरेपनि ति सुचनाहरुलाइ अटेर गर्दै वडा कार्यालयहरुले योजना फरफारक गर्न ढिला गरेका छन् ।
समय मै योजना सम्पन्न गराउनमा यस बर्ष वडा नँ १ ले बाजि मारेको छ । सो वडामा यो आर्थिक बर्षमा सञ्चालन भएका बिकास निर्माणका काम मध्ये ३ वटा योजना मात्र फरफारक हुन बाँकी छ ।
योजना शाखाले उपलब्ध गराएको तथ्याँक अनुसार आर्थिक बर्ष सकिन ३ दिन बाँकी रहदा वडा नँ १ मा वडा स्तरका २ र गाउँपालिका स्तरका १ वटा गरि जम्मा ३ वटा योजना फरफारक हुन बाँकी छ । त्यसै गरि वडा नँ २ मा गाउँपालिका स्तरका १ वटा र वडा स्तरका ३ वटा गरि जम्मा ४ वटा योजना फरफारक गर्न बाँकी देखिन्छ । वडा नँ ३ मा गाउँपालिका स्तरका ९ र वडा स्तरका १२ वटा योजनाहरु गरि जम्मा २१ वटा योजनाहरु फरफारक हुन बाँकी छन् । त्यसै गरि वडा नँ ४ मा वडा स्तरका १ र गाउँपालिका स्तरका ५ वटा गरि जम्मा ६ वटा योजनाहरु फरफारक भएका छैनन् । वडा नँ ५ मा गाउँपालिका स्तरका ४ र वडा स्तरका ९ वटा गरि जम्मा १३ वटा योजनाहरु सम्पन्न हुन बाँकी छन् भने वडा नँ ६ मा गाउँपालिका स्तरका ३ र वडा स्तरका ५ वटा गरि जम्मा ८ वटा योजनाहरु सम्पन्न हुन बाँकी देखिएका छन् ।
गत बर्ष साउनमै सम्पन्न भएको सातौ गाउँसभा बाट यो बर्षका बिकासनिर्माणका योजनाहरु छनौट भइ सकेका थिए । ति योजनाहरु सञ्चालन गर्न असोज मै उपभोक्ता समिती गठन वा ठेक्का प्रकृयामा जानु पर्नेमा वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले आफ्नो प्यानलका मानिसहरुलाइ उपभोक्ता समितीमा राख्ने परम्पराका कारण योजना सँझौता नै अन्तिम समयमा हुने गरेको कुरा श्रोतले बताएको छ । वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले आफ्नो प्यानलका वा आफ्नो कुरा मान्ने ब्यक्ती तथा एउटै ब्यक्तीलाइ एक भन्दा बढि उपभोक्ता समितीमा राख्ने परम्पराले पनि उपभोक्ता समिती गठन गर्न ढिलो हुने गरेको बुझिएको छ ।
प्रमुख प्रसाशकीय अधिकृत राजु दाहालका अनुसार योजना सञ्चालन गर्न उपभोक्ता समिती गठन सँबन्धमा वडा कार्यालयहरुलाइ बारम्बार पत्राचार गर्दा समेत वडाध्यक्षहरु अटेर गरि बसेको र आफुले बिभिन्न मितीमा तिन पटक सम्म उपभोक्ता समिती गठनका लागि वडा कार्यालयहरुलाइ पत्राचार गरेको कुरा बताएका छन् । तिन पटक सम्म पत्राचार गर्दा समेत समयमै उपभोक्ता समिती गठन गरेको देखिएन — उनले भने ।
पछिल्लो समय लकडाउन शुरु भएपछी मौकाको फायदा उठाउदै वडा कार्यालयहरुले सुचनै जारी नगरि माइन्युट बोकेर आफ्ना प्यानलका मानिसहरुको घरघरमै पुगि हस्ताक्षर गराउदै गुपचुपमा कतिपय उपभोक्ता समितीहरु बनाइएको पाइएको छ ।
चालु आर्थिक बर्षको साउनमै योजना छनौट भइ सक्दा समेत सबै भन्दा ढिलो उपभोक्ता समिती बनाउने र सबै भन्दा ढिलो योजना सँझौता गर्नमा पनि यो बर्ष वडा नँ ३ नै अगाडी देखिएको छ । नियम अनुसार बैशाख १५ गते पछी योजना सँझौता गर्न पाइदैन तर जेठ लागि सक्दा समेत उपभोक्ता समितीहरु योजना सँझौता गर्न नआएपछी गौरीगञ्ज गाउँपालिकाले सुचना निकालेरै जेठ २५ गते सम्म योजना सँझौता गराएको थियो । योजना शाखाको रेकर्ड अनुसार जेठ लागि सकेपछी गाउँपालिकामा ६ वटै वडाहरु बाट अन्तिम समयमा १४ वटा योजना सँझौता भएको देखिन्छ । जेठ लागे यता अन्तिम समयमा ढिलो गरि योजना सँझौता गर्नेमा सबै भन्दा बढि वडा नँ ३ कै ६ वटा योजनाहरु छन् । जेठ महिना यता अन्तिम समयमा सँझौता भएका योजनाहरु वडा नँ १ को १ वटा वडा नँ २ को २ वटा वडा नँ ३ को ६ वटा वडा नँ ४ को २ वटा वडा नँ ५ को १ वटा र वडा नँ ६ को २ वटा योजनाहरु रहेका छन् ।
वडा नँ ३ का अन्तिम समयमा सँझौता भएका ५ वटा योजनाहरु मध्ये अधिकाँश १० लाख भन्दा माथिका ठुला बजेटका योजनाहरु छन् । बजार भित्र सुशिल दासको घर देखि पाडाजुँगी जोड्ने सडकमा नाला सहित ब्लक को योजना जेठ २३ गते सँझौता भएको देखिन्छ भने ४५ लाखको बजेटमा बन्न लागेको दर्शन महतोको घर देखि च्युरा मील सम्मको पक्की नाला सहितको सडक योजना ज्ठ ११ गते बल्ल सँझौता भएको दिखिन्छ । ३२ लाखको बजेटमा बन्न लागेको हुलाकी सडक देखि ज्ञानकुञ्ज स्कुल जाने सडकको पक्की वानाको योजना ज्ठ १८ गते सँझौता भएको देखिन्छ । त्यसै गरि महादेव अग्रवालको घर देखि लालडिघी जाने सडकमा पक्की नाला सहितको उच्च स्तरिय ग्राभेलको रु २५ लाख बजेटको योजना जेठ १६ गते सँझौता भएको देखिन्छ ।
महतो समाज कल्याण परिषदको भवन तथा गेट निर्माणको १३ लाख को योजना पनि अन्तिम समयमा आएर बैशाख ३० गते सँझौता भएको देखिन्छ । यि सबै योजनाहरुको सौझौता पत्रमा असार २० गते भित्र योजना सम्पन्न गरि सक्ने भनि उपभोक्ता समितीहरुले हस्ताक्षर गरेका छन् तर आज असार २७ गते भइ सक्दा समेत अन्तिम समरयमा आएर सँझौता भइ निर्माण शुरु भएका यि सबै योजनाहरु अहिले अलपत्र परेका छन् । कतिपय उपभोक्ता समितिहरुले असार मसान्त सम्म योजना सक्न हिलो माथी समेत ढलानको काम गरि कमसल काम गरिरहेका छन् भने हतारोमा उनिहरुले पछिल्लो समय १२ बजे राती सम्म पनि काम गरेको देखिएको छ । सामान्यतया बर्षा लागेपछी असारमा गरिएको निर्माणको काम बलियो मानिदैन । तर वडा नँ ३ मा असारे बिकासको परम्परा झन मौलाउदै गएको छ । वडा नँ ३ मा ठुला बजेटका योजनाहरु अलपत्र पर्नुको अर्को पनि कारण छ । अघिल्ला गाउँसभाहरु बाट १० लाख भन्दा माथिको योजना हरु ठेक्का प्रकृया मार्फत जाने निर्णय गरिए पनि पछिल्लो समय आफ्ना कार्यकर्ता र आसेपासेहरुलाइ रिझाउन वडा नँ ३ कै वडाध्यक्ष मखना महतोको नेतृत्वमा १ करोड सम्मको योजना उपभोक्ता समिती मार्फत गराउन पाउनु पर्ने माग राखि गत भदौ देखि कार्यपालिका भित्र एक प्रकारको बिद्रोह शुरु भएको थियो । तत्कालिन प्रमुख प्रसाशकिय अधिकृत प्रबिण दाहालले सो निर्णय सार्वजनिक खरिद नियमावली बिपरित भएकाले त्यस्तो निर्णय गराउन नसकिने अडान लिए पछी उनलाइ सरुवा गराएर गत असोजमा बिशेष गाउँसभा गराएर ४९ लाख सम्मको योजना उपभोक्ता समिती मार्फत गराउन पाउने निर्णय गराएका थिए । र यहि निर्णयको पर्खाइमा समेत उपभोक्ता समिती गठन गर्न ढिलो भएको कुरा गाउँपालिकाकै एक कर्मचारी बताएकान् ।
वर्षभरि काम नगर्ने र आर्थिक बर्षको अन्तिममा असार लागेपछि बजेट सक्काउन हिलोपानीमा ढुँगा गिटी र सिमेन्ट छर्किदै जनताको आखामा छारो हाल्ने परम्परा कहिले सम्म ? आफ्ना कार्यकर्ता पाल्न जनताको करको दुरुपयोग कहिलेसम्म ? जनताले यसको जवाफ खोज्न जरुरी छ ।