शान्तिपुर्ण वातावरणमा यस बर्षको एसइइ परीक्षा शुरु

चैत ७ काठमाडौं ।‌ विद्यालय जीवनको फलामे ढोका मानिने माध्यमिक शिक्षा परीक्षा ( एसइई ) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

“देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताएका छन् ।

यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

नियन्त्रक पौडेलका अनुसार प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको तथा परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन ।

बोर्डले यसवर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइ छ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पु¥याउने लक्ष्य छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।