
साउन १४, गौरीगञ्ज । बढ्दो कोरोना संक्रमणको रोकथामका लागि झापाका दस वटा पालिका सिल गरिएको अवस्थामा पर्सी शनिबारदेखि पुरै झापा जिल्ला सिल गरिने भएको छ । शनिबार मध्यरात देखि पुरै झापा जिल्ला सिल गर्ने निर्णय भएको हो ।
डिसीसीएमसी र जिल्लाका पालिकाका प्रमुखहरुको आज बसेको संयुक्त बैठकले शनिबारदेखि एक सातासम्म पुरै जिल्ला सिल गर्ने निर्णय गरेको हो । यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिका सिल गरिसकिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड कोभिडको संक्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये बाँकी भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल पनि सिल गर्ने निर्णय भएको जनाइएको छ ।