मँसिर २४ झापा । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पुर्ब मेयर पक्राउ परेका छन् । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ ।

झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखिएको खुलेको छ ।उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि यौन दुर्व्यवहार आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।