• असार २४, २०७८
  • Madan Rajbanshi
  • 0

गौरीगञ्ज, असार २४ । मनसा सिमेन्ट, मगमग चाउचाउ लगायतका झापाका दर्जनौ उद्योग का मालिक झापाका चर्चित उद्योगपति तथा समाजसेवी पर्शुराम अग्रवालको निधन भएको छ ।

उनको ६२ वर्षको उमेरमा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई राति नै त्यहाँबाट भद्रपुर ल्याइएको छ ।

भद्रपुर निबासी उनलाई गत जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुडी लगिएको थियो । महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो । फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बन्यो ।

बुधवार दिउँसो स्वास्थ्य फेरि जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटर राखेको केही घण्टामै उनको मृत्यु भएको जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए ।
२०१६ सालमा जन्मिएका उनि बिडी उद्योग बाट औध्योगिक क्षेत्रमा प्रवेश गरेकाथिए ।मोहपाल धर्मशालामा समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर बनाउन उनले ठूलो सहयोग गरेका थिए । उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतको कारोबार रहेको छ । उनी झापाकै मात्र नभई नेपालकै एक प्रतिष्ठित उद्योगीको रुपमा आफूलाई चिनाउन सफल भएका थिए ।