
काठमाण्डाै – वरिष्ठ लेखक गीतकार एवम् निर्देशक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो ।
गएको १६ गते देहरादुनबाट काठमाण्डाै आउनुएका उहाँलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भए पछि उनको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।
स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिएका कार्कीले तिजको रहर आयो बरिलै, कलिलो तामालाई सोध रामालाई, यि ओठ तिम्रा मुस्कान तिम्रै, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, बैनीको दया छ भने लगायतका दर्जनौ चर्चित गीतहरु लेखेका छन् । उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।
कार्की द्वारा लिखित जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।
कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् । आत्मा बेचेको छैन उपन्यासको पृष्ठभूमिमा उनको जीवन र उनले भोगेको परिवेश छ । देशको मायाले उनी लाहुरबाट फर्किए । तर, देशमा आएर उनले दुःख पाए । यस उपन्यासलाई त्यसको प्रतिक्रिया मान्दथे उनि ।