असोज २५, रँगेली । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको हो । लुटेरा समुहको गोली लागेर सुरक्षा गार्ड घाइते भएका छन्।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बैक लुट्न खोज्नेहरु भारतीय नागरिक भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दिउसै बैंक लुटपाट भएपछि स्थानीय त्रसित भएका छन् । कर्सियाका सम्भु रौनियारले कर्सिया बजारका स्थानीयले असुरक्षित महसुश गरेको बताए । उनले सीमा क्षेत्रबाट अवैध कारोबार बढ्दै गएको बताउँदै प्रशासनले समयमै ध्यान नदिदाँ घटना भएको आरोप लगाए ।

गोली चले लगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार लुटेरा समूहका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको स्थानीय हरुले बताएका छन् ।

पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले लुटपाटका लागि आएको समूहले गोली चलाएको हुनसक्ने बताएका छन् ।