चैत १, गौरीगञ्ज । झापाको गौरादहमा रहेको गौरादह नगर अस्पतालको उद्घाटन गरिएको छ । असोज १ गतेदेखि सञ्चालनमा आएको अस्पतालको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज औपचारिक उद्घाटन गरेकाछन् । १५ शैया क्षमता भएको यो अस्पतालमा चौविसै घण्टा आकस्मिक सेवा समेत सुचारु गरिएको गौरादहका नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । गौरादह स्वासथ्य चौकीलाई स्तरउन्नती गरि अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा अहिले एक जना एमडि सहित ३ जना चिकित्सकले सेवा दिइरहेका छन् । गौरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठका अनुसार अस्पतालमा दैनिक ओपिडि सेवा, प्रयोगशाला, एक्सरेको सेवा छ । यस्तै नियमित खोप सेवा, परिवार नियोजन सेवा, एकिकृत बालरोग व्यवस्थापन सेवा, कुपोषित बालबालिकाको उपचार सहितका कार्यक्रम सञ्चालनमा छन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, ८ हप्ता सम्मको गर्भपतन, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, रेबिज बिरुद्धको खोप, डेँगु, मलेरिया, काराजारको जाँच, फार्मेसी, इसीजी सेवा अहिले सञ्चालनमा छन् । नगर प्रमुख सुवेदीका अनुसार अस्पताल निर्माणका लागि गौरादह १ मा डेढ बिगाह जग्गाको व्यवस्थापन भइसकेको छ । सरकारले २०७६\७७ मै अस्पतालका लागि १८ करोड ६८ लाख २ हजार रुपैयाँ बिनियोजन गरे पनि जग्गा व्यवस्थापन हुन नसक्दा २ बर्ष बजेट फ्रिज भएको थियो । यस पटक भने अस्पताल निर्माणका लागि डिपीआर तयारी गर्ने काम भइरहेको छ । यस्तै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि सबै प्रकृया पुरा भइसकेको छ । अब यहीँ महिना भित्र बिमा कार्यक्रम समेत शुरु गर्ने जनाइएको छ ।