विराटनगर : नयाँ सिलाएको कपडा युवतीले लगाएको सीसीटीभी क्यामेराबाट रेकर्ड गर्ने गरेको आशंकामा विराटनगर मेनरोडको एक टेलर्स सञ्चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

काली मन्दिर भन्दा दक्षिणतर्फ प्यासेजभित्र रहेको जेन्टलमेन टेलर्सका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । टेलर्सको माथिल्लो तलामा रहेको कोठामा राखिएको सीसीटीभी क्यामेराले कपडा फेरेको रेकर्ड गरेको पीडित युवतीको भनाईका आधारमा सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

माथिल्लो तलाको सानो कोठामा तीन वटा कपडा सिलाउने मेशिन रहेको ठाउँमा नयाँ कपडा सिलाउनेहरूलाई लगाउन दिने गरिएको थियो । प्रहरीले क्यामेराले रेकर्ड गरेका भिडियोहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सा“झको समयमा टेलर्समा प्रहरी पुगेपछि भएको भिडभाडमा गएका सञ्चारकर्मीलाई केही उच्छृङ्खल व्यक्तिले हातपात र दुर्व्यवहार गरेका छन् । एक व्यक्तिले ‘यहाँको फोटो खिचेर मिडियामा निकाले काटी दिन्छु’ भन्ने धम्की दिएका छन् । आफूहरू पत्रकार भएको परिचय दिंदै ती व्यक्तिसँग परिचय माग्दा उनले ‘अभिभावक हुँ’ भन्ने छोटो जवाफ दिएका थिए ।

अर्का एक व्यक्तिले फोटो खिचे सञ्चारकर्मीको क्यामेरा खोसेर फुटाई दिने धम्की दिएका छन् । ती व्यक्तिका बारेमा जानकारी गराउँदा प्रहरीले बेवास्ता गरेको छ । घटनास्थलबाटै प्रहरी उपरीक्षक जनार्दन जीसीलाई फोन गरेर जानकारी गराइएको थियो । पीडित भनिएका महिलाहरूका आफन्तले सञ्चारकर्मीलाई अभद्र ब्यवहार गरेको बताउँदै जीसीले उनीहरूका बारेमा अनुसन्धान हुने बताए ।

उद्घोष डटकमबाट