• फाल्गुन १३, २०७८
  • Madan Rajbanshi
  • 0

रबिन्द्र बराल, रँगेली । मोरङको सुनबर्षी नगरपालिकामा नेकपा (एमाले) ले विरोध प्रदर्शन गरेको छ । निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै एमालेले प्रदर्शन गरेको हो । नगरपालिकाका मेयर कालीप्रसाद दास सहितका जनप्रतिनिधिहरुले नगरवासीले तिरेको करमा लुट मच्चाएको र काममा पारदर्शीता नरहेको भन्दै एमाले ले प्रदर्शन गरेको हो ।

नेकपा (एमाले) सुनवर्षी नगर कमिटीले बिहिबार सयौँ कार्यकर्ता हरु सहित नगरपालिकामा विरोध प्रदर्शन गरेको थियो । एमाले कार्याकर्ताहरुले पार्टी कार्यालयबाट नगरपालिकासम्म विरोध -याली समेत निकालेका थिए । एमाले कार्यकर्ताहरुले कार्यकर्ता भर्ती बन्द गर, विकृती विसंगती अन्त्य गर, कार्यकर्ता भर्ती बन्द गर, प्रशासनिक भवन निर्माण खर्च सार्बजनिक गर, नगर अस्पताल किन बनेन जवाफ दे, कोरोना नियन्त्रण खर्च सार्बजनिक गर, नगरभित्र शुसासन कायम गरलगायतका नारा लगाउँदै नगरपरिसरभित्र पुगेर विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि उक्त -याली डायनिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेकपा (एमाले) केन्द्रीय सदस्य रामलाल साहले नगरलाई भ्रष्टाचार मुक्त बनाउन सवै जनता लाग्नुपर्ने बताए । उनले अहिले नगरपालिकामा चरम भ्रष्टाचार मौलाएको बताउँदै शुसासनका लागि आगामी निर्वाचनमा एमालेलाई निर्वाचित गराउन आग्रह गरे । कोणसभामा नेकपा (एमाले) प्रदेश कमिटी सल्लाहकार जयवीरुद्धिन, पूर्व जिल्ला कमिटी सदस्य वर्तलाल राजवंशी, जिल्ला कमिटी सदस्य हेमेश्वर राई, नगर कमिटी अध्यक्ष श्याम राजवंशी, सचिव विष्णु कडेल, नेपाल मुस्लिम इत्तेहाद संगठन सुनवर्षी नगर कमिटी अध्यक्ष निजामुद्धिनलगायतले सुनवर्षी नगरपालिकाका लागि आएको नगरअस्पतालको योजना कमिशनको खेलले फिर्ता पठाएको आरोप लगाए । उनीहरुले मेयर कालीप्रसाद दास सहितका जनप्रतिनिधिले नगरअस्पताल बनाउन नसकेपनि मृत्यु हुँदा दाहासंस्कार गर्ने आर्यघाट बनाउने सोच राख्न चुनौती दिए । नेताहरुले मेयर दास पाँच वर्ष अगाडी मत किनेर निर्वाचित भएपनि उनले गरेको भ्रष्टाचार र अनियमितता छर्लङ्ग भएकाले अब जनताले उनलाई भोट हाल्ने भुल नगर्ने बताए ।

पटक–पटक ज्ञापनपत्र बुझाउँदै नगरमा भए गरेका काम सार्बजनिक गर्न माग गरेपनि मेयर दासले बेवास्ता गरेपछि बाध्य भई जनतालाई सुसूचीत गराउन प्रदर्शनमा उत्रिनुपरेको एमाले सुनवर्षी नगर कमिटीका सचिव विष्णु कडेलले बताए । विरोध प्रदर्शनमा एमालेका सयौँ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।