भारतिय अतिक्रमणले बिस्थापित हुँदै नेपालको सन्थाल बस्ती


फागुन १८ झापा । पछिल्लो समय भारतिय पक्षको अतिक्रमणमा परेको गौरीगञ्ज वडा नँ २ को सन्थाल बस्ति बिस्थापनको जोखिममा परेको छ । नेपाल सरकारको चासो भित्र नपरेको गौरीगञ्ज वडा नँ २ स्थित पिण्डालघुटु गाउँका सन्थाल परिवारहरु भारतिय सीमा सुरक्षा बलको दादागीरी सहन नसकी बिस्तारै बिस्थापित हुन थालेका छन् ।


२०५५ साल अघि कमल खोला पुर्व रहेको दशगजा पिलरहरु २०५५ ताका भारतिय पक्षले नेपाली भुमी मिच्दै कमल पश्चिम रहेको पिण्डालघुटु गाउँको बीचमै सारेपछी सो नेपाली बस्ति अतिक्रमणमा परेको हो । सीमाको दशगजा क्षेत्र सरेर गाउँको बीचैमा आइपुगेपछी यहाँका सन्थाल समुदायका १९ नेपाली परिवार बिस्थापनको जोखिममा परेका छन् । भारतिय पक्षको ज्यादती सहन नसकी गत बर्ष बरियार सोरेनको परिवार बिस्थापित भइसकेको छ भने यो बर्ष उनका भाइ जेठा सोरेनलाइ समेत भारतिय सीमा सुरक्षा बलका जवानहरु आएर बसाइ सार्न दवाव दिइरहेको कुरा स्थानियहरुले बताएका छन् ।


गत बर्ष भारतिय एसएसबीहरु आएर बरियार सोरेनलाइ घर खाली गर्न बारम्वार दवाव दिएको र पछी उनले घर सार्न नमान्दा बल प्रयोग गर्ने र धम्क्याउन थालेपछी उनले बसाइ सरेर अन्यञ गएको र यस पटक उनका दाजु जेठा सोरेनलाइ पनि घर खाली गर्न दवाव दिइरहेको कुरा स्थानिय जेठा मुर्मुले बताए । २०७९ साल माघ तिर बरियार सोरेनलाइ थाहै नदिइ दुबै पक्षका सुरक्षा बलहरुले नयाँ कायम भएको दशगजा क्षेत्रमा रहेको उनको घर खाली गर्ने सहमती गरेको स्थानिय अगुवाहरुले बताएका छन् ।


यसरी सारियो पिलर नेपाली बस्तीको बीचमा


स्थानीयहरुका अनुसार २०५५ साल अघि सम्म कमल खोलाको पुर्वी किनारमा दश गजा क्षेत्र कायम थियो । सो दशगजा क्षेत्रका अबसेषहरु अहिलेपनि खोलाको पुर्बि किनारमा अबस्थित नै छ भने सो क्षेत्रको झण्डै १ किलो मिटर पुर्व सन १९७९ मा कायम गरिएको २६ नँबरको रिफ्रन्स पिलर अहिले सम्म यथाबत नै छ । त्यसबेला दशगजा क्षेत्रमै साप्ताहिक रुपमा लाग्ने बालुवाडाँगी हटियामा नेपाली र भारतिय स्थानियहरु बीच बिबाद शुरु भयो । बिबादले उग्र रुप लिन थालेपछी सो कुरा केन्द्र सम्म पुगेको र २०५५ – ५६ साल ताका दुबै देशको प्रतिनिधिहरु बसेर सीमा नाप जाँच गरेको र सोहि साल पिलरहरु नेपाली भुमि तीर सारिएको कुरा स्थानियहरुले बताएका छन् । त्यो बेला नेपाली बस्तीकै बीचमा आएर साना पिलरहरु गाडेपछी स्थानियहरुले बिरोध समेत गरेको तर त्यो बेला यो पिलरहरु स्थायी रुपमा नगाडेको र अहिले नाप जाँचको लागि चिन्ह मात्र लगाएको भनि स्थानियहरुलाइ झुक्याएको कुरा स्थानिय ओमप्रकाश राजवँशीले केहि समय अघि गौरीगञ्ज दर्पणलाइ बताएका थिए । २०७४ सालमा भारतिय पक्षले एकलौटी रुपमा आएर साना पिलरहरुको ठाउँमा अहिलेको ठुला पिलरहरु गाडेको कुरा स्थानियहरु बताउछन् । २०७४ सालमा यो गाउँमा बाढी आएर क्षति गरेकोमा हामी राहत लिन गएको र पछी राहत लिएर फर्किदा गाउँमा सानो पिलरको ठाउँमा ठुलो पिलर गाडेको पायौँ – स्थानियहरु बताउँछन् । अहिले १४२ अब्लिक ८ नँबरको पिलर स्थानिय बुधलाल हेमरमको आँगनमै गाडिएको छ भने १४२ नँबरको जँगि पिलर खोलाको पुर्वि किनार बाट पश्चिमको किनारमा सारेर गाउँको उतर तिर गाडेको छ । यहि १४२ नँबरको जँगी पिलर र १४२ अब्लिक ८ नँबरको पिलर बीचमा परेको घरहरु खाली गर्न भारतिय पक्षहरुले दवाब दिइ रहेको हो । दुइ बर्ष अघि पिण्डालघुटु गाउँकै पाँच सय मिटर पश्चिम नेपाली पक्षले पनि सीमा सुरक्षा बलको बेस क्याम्प स्थापना गरेपनि स्थानियहरुले आडबल नपाएको उनिहरुको गुनासो छ । उनिहरु भन्छन् – भारतिय एसएसबीहरु नियमित रुपमा सीमा स्तम्भहरुको अनुगमनमा आइरहेका छन् । आएको बेला स्थानियहरु त्रासमा हुन्छौँ ।


२०५५ साल पछी सीमा स्तम्भ नेपाली भुमि तिर सारिएपछी अहिले स्थानिय नेपालीहरुको पचासौँ बिघा जमिन भारतियहरुको कब्जामा रहेको छ ।

स्थानीय बासिन्दका अनुसार यहाँको कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनुवा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनी नेपाल सरकारलाई तिरिरहेको बताएका छन् ।