विराटनगर । बिराटनगर एयरपोर्ट मोडको चर्चित दुर्घटना काण्डका आरोपि पक्राउ परेका छ । प्रहरीले विराटनगर एयरपोर्ट रोडमा भएको सवारी दुर्घटना गराउने सवारीका चालक रबिन कार्कीलाई पक्राउ गरेको छ । आइतबार दिउँसो घरबाट नै कार्कीलाई पक्राउ गरेको हो ।
दुर्घटनामा परेको कारमा सवारहरुको बयान र प्राप्त प्रमणका आधारमा चालक कार्की नै रहेकाे देखिएकाले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्कोजना घाइते भएका थिए । पैदल यात्री भारत कटिहारका मुकेश शर्माको मृत्यु र मोरङ कटहरी–२ का राजकुमार राजबंशी घाइते भएका थिए ।
दुर्घटनापछि कार्की फरार रहेका थिए । प्रहरीले चारदिनपछि पक्राउ गरेको छ । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काले पक्राउ गरेर सवारी ज्यान कसूरमा म्याद थप्ने प्रक्रिया बढाइएको जानकारी दिए । प्रहरीले घरबाट पक्राउ गरेपनि भट्टा चौकबाट पक्राउ गरिएको बताएको छ ।
प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारका चालक कार्की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् । त्यहि कारणले प्रहरीले उनलाई ढिलो गरी पक्राउ गरेको भन्दै आलोचना भएको थियो । उनले मदिरा सेवन गरेर कार चलाएका बेला दुर्घटना भएको भनाई बाहिर आएको छ । तर, प्रहरीले तत्काल पक्राउ नगरेपनि उनले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्ट निस्प्रभावि हुने निश्चित छ । प्रहरीले कारमा रहेका पाँचजनामध्ये केहिसँग र मदिरा सेवन गरेको होटल एड्मायरका सञ्चालक पंकज साहसँग यस अगाडी बुझेको थियो ।
कोशी अनलाइन र आवर बिराटनगर डट नेट बाट ।