जेठ ६ झापा । गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।


पोख्रेल लाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै उदयपुर जिल्ला अदालतले २०७७ साल मङ्सिर २३ गते ९ वर्ष जेल सजाय र एक लाख रुपैंया पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

२०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाउँको गहते जङ्गलमा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि बालिकालाई बेहोस बनाएर उनी फरार भएका थिए । उनी उदयपुरबाट फरार भएर भारततर्फ भागेको र प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए ।

छनौट प्रक्रिया पुरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
(न्युज सञ्जालबाट साभार)