असार ३१, जुम्ला । बजेटमा मनपरी गरेको भन्दै जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले पालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी छन् । कार्यपालिकाको बैठकमा विवाद हुँदा उपाध्यक्ष मल्लले अध्यक्ष बुढामाथि हातपात गरेकी हुन् ।
हातपात पछी। अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालयमा उपाध्यक्ष मल्ल बिरुद्ध उजुरी दिएका कुरा जुम्लाका प्रहरी प्रमुख प्रह्लाद कार्कीले जनाएका छन् ।
बैठकमा उपस्थित एक जनप्रतिनिधिका अनुसार उपाध्यक्ष मल्लले अध्यक्ष बुढामाथि सुरुमा चप्पल प्रहार गरेकी थिइन् । तर, चप्पलले नलागेपछि मल्लले हातपात गरेकी थिइन् । उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् भने अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
उपाध्यक्ष मल्लले आफूले अध्यक्ष माथि हातपात गरेको स्वीकार गरेकी छन् । उनले आफूले अत्याचार सहन नसकेर कुनै उपाय नलाग्दा हातपात गर्न बाध्य भएको बताइन् । अध्यक्ष बुढाले आफ्नो अधिकारलाई कुण्ठित गरेको र आफू निकै पीडित रहेको मल्लले बताइन् ।
‘म अरूलाई न्याय दिने मान्छे हो, म आफै न्याय खोज्न कहाँ जाऊँ ?,’ उनले प्रश्न गरिन्, ‘एक वर्षसम्म मैले बाहिर कुनै कुरा गरिनँ । मैले सहनुसम्म सहेँ । अति भएपछि हातपात नै गर्न बाध्य भएकी हुँ ।’
अध्यक्ष बुढाले आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने काम गरिरहेको उनको आरोप छ । १० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको उनले आरोप लगाइन् । ‘असार २४ गतेसम्म पनि म अनुगमनमा भ्याई नभ्याई व्यस्त थिएँ,’ उनले भनिन्,‘काममा अनियमितता, लापरबाही भएको भन्दै गुनासा आएपछि म आफैँ फिल्डमा खटिएको थिएँ । अनुगमन गर्न राज्यले उपाध्यक्षलाई दिने कुनै पनि सेवा सुविधा मलाई दिएको छैन । म अरूकै बाइकमा तेल हालेर अनुगमनमा जाने गरेको थिएँ ।’
बजेट पास गर्ने विषयमा २९ गते दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइए पनि त्यो नभएको उनको भनाई छ । छलफलका क्रममा आफूलाई पुरै बेवास्ता गरिएको उनको भनाइ छ । २९ गते राति जुम्लाको पौवा होटेलमा अध्यक्ष बुढाले माओवादीनिकट कार्यपालिका सदस्य र कांग्रेस निकट सदस्यसँग मात्र बसेर छलफल गरेको उनले बताइन् ।
‘म गाउँपालिकाको सेकेन्ड पर्सन हैन र ? मलाई कति अन्याय भएको छ,’ उनी भन्छिन्, ‘मलाई कुनै जानकारी नदिएर नै सबै मिलेर पास गराउने उहाँ (अध्यक्ष) को रणनीति थियो । ३० गते बस्ने भनिएको बैठकमा पनि कोही आएनन् । म घर फर्किएँ । ठिकै छ त बजेट ल्याइसके अब छलफलको माध्यमबाट सहमति गरेर जाउँला भन्ने सोच मेरो थियो । तर, मलाई नसोधेर नै बजेट ल्याइयो । आज पनि कर्मचारीदेखि सबैले मलाई अलमल पारे । म अन्याय पारेँ ।’
अध्यक्षले आफू निकट कर्मचारी, जनप्रतिनिधिलाई छुट्टै बोलाए छलफल गरिरहेको र आफूमाथि अत्याचार भएको महसुस गरेपछि आफूले हातपात गरेको उनले बताइन् ।
रातोपाटी डट कम बाट सँपदित रुपमा।