फागुन १५, गौरीगञ्ज । फागुन २८ गते देखि गौरीगञ्जमा हातीपाईले रोग बिरुद्धको औषधी खुवाउने भएको छ । हातिपाईले रोग बिरुद्धको जिल्ला ब्यापि अभियान चलाए सँगै २८ गते देखि गौरीगञ्जमा सो रोग बिरुद्धको औषधी खुवाउन लागिएको हो । बिगत १० बर्ष देखि झापामा नियमित खुवाइरहेको सो औषधी यो बर्ष पनि खुवाउन लागिएको हो । आईतबार गाउँपालिकामा एक औपचारिक कार्यक्रम को आयोजना गरि सो बारे जानकारी दिईएको छ ।
सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको कुरा जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई ले जानकारी दिए । प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम छ । उनका अनुसार यही फागुन २८ देखि आमऔषधि सेवन अभियान सञ्चालन हुनेछ ।
क्युलेक्स जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा सो रोग लाग्ने गर्छ । ज्वरो आउनु र शरीरमा कम्पन हुनु, रक्तनली सुनिनु, पुरुषका अण्डकोष वरपर नसा फुल्नु, महिलामा यौनाङ्ग अथवा स्तन सुनिनु, पिसाब सेतो हुनु आदि सो रोगको लक्षण हुने कुरा चौलागाई ले जनाएको छ । मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यसबाट बच्ने एक मात्रै विकल्प भनेको सुरुको अवस्थाबाटै औषधि सेवन गर्नुपर्छ । हातीपाईले रोग औषधी ५ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् ।
यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधि औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
पछिल्लो तथ्यांक अनुसार गौरीगञ्जमा हातिपाईले रोगका ४० बिरामी छन् भने झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईंले जानकारी दिए ।
उक्त औषधि ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन महिनासम्मका सुत्केरीबाहेक सबैले सेवन गर्न मिल्ने जिल्लाका फोकल पर्सन चौलागाईंले जानकारी दिए ।
गाउँपालिका को सभाहलमा आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई खोप अधिकृत ईश्वरी पोख्रेल गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा लगायत सरोकारवाला हरुको उपस्थिति रहेको थियो भने कार्यक्रम लाई स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र ले सहजिकरण गरेका थिए ।