मदन राजवँशी मनप्रीत
आज असार २५ गते । अर्थात चार बर्ष अघि आजकै दिन गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापाले अध्यक्ष र उपाध्यक्षको रुपमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेकै दिन अर्थात गौरीगञ्ज गाउँपालिकाको अध्यक्षको कुर्सीमा बसेकै दिन अध्यक्ष श्रेष्ठले दुइ वटा महत्वपुर्ण निर्णयहरु गरेका थिए । तर ति निर्णयहरु गाउँपालिकामा कहिल्यै कार्यन्वयन भएन । गाउँपालिकाका अध्यक्ष श्र्ष्ठको त्यो पहिलो दिनको निर्णय केवल कागजको खोस्टाको रुपमा फायलमा बन्द भएर दराजमा थन्कियो । ति निर्णयहरु कार्यन्वयन गर्न न त पछिल्ला दिनमा अध्यक्षले चासो लियो न त अन्य जनप्रतिनिधिहरुले नै ति निर्णय कार्यन्वयन गराउन फायल खोजे ।
पदभार ग्रहण गरेको पहिलो दिन अध्यक्ष श्रेष्ठले सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमन गर्न गौरीगञ्ज गाउपालिका क्षेत्र भित्रका सबै सरकारी र गैरसरकारी कार्यालय परिसर भित्र धुम्रपान गर्न नपाइने नियमलाइ कडाइका साथ लागु गर्ने निर्णय गरेका थिए भने सोहि दिनको अर्को महत्वपुर्ण निर्णयका रुपमा गाउँपालिका भित्रका गाउँ तथा बजार लाइ सफा र सुन्दर बनाउन सडक अधिकार क्षेत्र तथा सार्वजनिक क्षेत्र भित्र बनेका सँरचनाहरु हटाउने तथा हटाउन लाउने निर्णय गरेका थिए । तर उनले पदभार ग्रहण गरेर यि निर्णयहरु गरेको आज ठ्याक्कै चार बर्ष बिति सक्दा उनले गरेका यि निर्णयहरुले गौरीगञ्जबासीलाइ गिज्याइ रहेको छ ।

अध्यक्षले पदभार ग्रहण गरेको दिन गरेको निर्णय


अध्यक्षको पद सँहालेकै दिन सरकारी र गैरसरकारी कार्यालय परिसर भित्र सुर्ति जन्य पदार्थ नियन्त्रण गर्ने उनको पहिलो निर्णयलाइ कार्यपालिका बैठक भित्रै उनका केहि वडाध्यक्षहरुले धज्जी उडाइरहेको कुरा श्रोतले बताएको छ । गाउँपालिका कार्यालयमा कार्यपालिका बैठक चलिरहेकै बेला केहि वडाध्यक्षहरुले खैनी माडेर खाने गरेको कुरा श्रोतले गौरीगञ्ज दर्यणलाइ बताएको छ भने वडा कार्यालय भित्रै एक वडाध्यक्षले सुर्तीको प्याकेट टेवलमा राखेर गज्जवले खैनी माडीरहेको भिडियो फुटेज समेत गौरीगञ्ज दर्पणलाइ प्राप्त भएको छ । अरु त अरु — गौरीगञ्ज माध्यमीक बिध्यालयको हाता भित्र र वडा नँ ६ को कार्यालय को हातामा बनेको सरकारी टहरामै ऐन र नियम बिपरीत मदिरा पसल सञ्चालन भइरहदा समेत जनप्रतिनिधिहरुले नदेखेझै गरिरहेका छन् । गाउँपालिका कार्यालय भवनकै इञ्जिनियरीङ शाखा लगायतका कोठाका झ्यालमा गुट्खा खाएर थुकेका दागहरुले समेत अध्यक्ष ज्युको त्यो पहिलो निर्णयलाइ गिज्याइ रहेको छ ।
पदभार ग्रहण गरेकै दिन अध्यक्ष श्रेष्ठले सडक क्षेत्र भित्रका बनेका सँरचनाहरुलाइ हटाउने भनि गरेको निर्णयले पनि अहिले गौरीगञ्जको मुटु मानिने वडा नँ ३ को बजार क्षेत्रलाइ गिज्याइ रहेको छ । बजार सुन्दर बनाउन सडक क्षेत्र भित्रका सँरचनाहरुलाइ कानुनत: हटाउनै पर्ने भएपनि वडा नँ ३ का वडाध्यक्ष मखना महतोले ब्यक्तीगत स्वार्थका लागि सडक क्षेत्रका सँरचनाहरु हटाउनुको साटो राष्ट्रिय गौरवको आयोजना नै कुरुप हुने गरि हुलाकी सडक बाङ्गोटिङ्गो बनाउदा अध्यक्ष श्रेष्ठ मुकदर्शक बनि रहेका छन् । हुलाकी सडक मात्र होइन गौरीगञ्ज अल्ताबारी सडक बनाउदा समेत अल्ताबारी देखि हुकागाछी चोक सम्म १२ मिटर फराकिलो बनेर आउदै गर्दा हुकागाछी चोक देखि गौरीगञ्ज चोक सम्मको बजार क्षेत्रमा झन फराकोलो बनाउनु पर्नेमा सो सडक झन १ मिटर साँघुरो बनाइएको छ ।
शहरी बिकास अन्तर्गत दुइ वर्ष अघि १४ करोडको लागतमा गौरीगञ्ज वडा नँ ३ र ६ का बजार क्षेत्रका सडकहरु पिच गर्ने योजना आएकोमा बजार क्षेत्रका सडकहरु १२ मिटर फराकीलो हुने गरि पिच गर्ने ठेक्का लागे पनि गौरीगञ्जको स्थानिय सरकारले बजारका बाटोहरुको क्षेत्र भित्र पर्ने सँरचनाहरु हटाउने आँट गरेनन् बरु स्थानिय सरकारले निरिहपन देखाउदै १२ मिटर फराकिलो सडकलाइ ९ मिटर मा झारेर पिच गर्न लगाए । अबको पाच बर्ष पछी बजार बिस्तार र बजार क्षेत्रमा बढ्दै गएको जनसँख्या को चापलाइ ति ९ मिटरका साँघुरा सडकहरुले थेग्ला ?
त्यो ९ मिटर साँघुरो सडकका पेटीहरु समेत अहिले अतिक्रमणमा पर्न थालि सकेका छन् । गौरीगञ्ज चोक हुदै बुधबारे बजार पस्ने सडकमा शहरी बिकास योजना अन्तर्गत पीच भइ सकेपछी अहिले सो सडकको पेटी स्थानीयहरुले अतिक्रमण गर्दा समेत गाउँपालिकाले ति अतिक्रमण गर्नेलाइ कारवाही गर्ने चासो देखाएका छैनन् । यस पटक शहरी बिकास योजना अन्तर्गत फेरी नेपाल सरकारले गौरीगञ्जलाइ १ अर्व रुपैया बिनियोजन गरेको छ । यस पटक शहरी बिकासले १५ मिटर भन्दा साँघुरो बाटोमा लगानी नगर्ने भएपछी बाटो खालि गराउन खुट्टा कमाउने गौरीगञ्जको निरिह र कमजोर स्थानीय सरकारले सो योजना नै बजार बाहिरका सडकमा सारी दिएका छन् ।
पदभार ग्रहण गरेको चार बर्ष पुगेको अबसर पारेर गौरीगञ्ज दर्पण डटकमले अध्यक्ष बाबुराजा श्रेष्ठलाइ उनको पहिलो निर्णय स्मरण गराएको छ । पहिलो निर्णय स्मरण गराएपछी उनले ६ नँबर वडाकार्यालय को टहरा बाट मदिरा पसल हटाउन वडाध्यक्ष बद्री नारायण यादवलाइ बारम्वार आग्रह गरेको बताए पनि गौरीगञ्ज माबिको हाता भित्र खुलेको मदिरा पसलको बारेमा प्रतिकृया दिएनन् । त्यसै गरि सडक क्षेत्र भित्र बनेका सँरचनाहरुको सँबन्धमा उनले अरु वडाहरुमा हुलाकी सडक लगायतका सडक योजनाहरुमा सँबन्धित वडाध्यक्षहरुको सहकार्यमा सडक क्षेत्र भित्रको सँरचनाहरु हटाउन सफल भएको जिकिर गर्दै वडा नँ ३ को हकमा वडाध्यक्षले नै साथ नदिएकाले सँरचनाहरु हटाउन नसकेको प्रतिकृया दिएका छन् ।
उनले दिएको प्रतिकृयाले स्थानीय सरकारमा अध्यक्ष ठुलो कि वडाध्यक्ष ठुलो भन्ने प्रश्न खडा गरिदिएको छ ।