असोज १९ नेपालगञ्ज । नेपालगन्जमा आज शुक्रवार फेरि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज बिहान ६ बजेदेखि राती ८ बजे निषेधाज्ञाको आदेश जारी गरिएको बताएका छन् ।
प्रशासनले शुक्रवार राति ८ बजेदेखि शनिवार बिहान ६ बजेसम्म साबिककै क्षेत्रमा कायम रहनेगरि निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञा आदेश जारी गरेको हो ।
प्रशासनले सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि जिल्लावासीमा अपिल समेत गरेको हो । सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले मङ्गलबार प्रदर्शन गरेको र्यालीको क्रममा विवाद भई तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।