साउन १०, गौरीगञ्ज । सँक्रमण दर बढ्दै गएपछी झापामा एक पछी अर्को स्थानिय तह शील हुन थालेको छ । दमक पछी बिर्तामोड नगरपालिकाले पनि साउन १३ गतेदेखि २० गतेसम्मलाई शिल गर्दै १२ वटा निर्णय गरेको छ । नगरपालिकामा भएको सर्पपक्षीय छलफलमा १३ गतेबाट एक हप्ता बन्द गर्ने सहमति भएको हो ।
नगरपालिकाले पहिलो निर्णय शिल गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने, शिल गर्नुपूर्व नगरवासीलाई आवश्यक वस्तु व्यवस्थापन गर्न अनुरोध गर्ने, नगरपालिकाको अत्यावश्य सेवा बाहेक सबै बन्द गर्ने, कोभिड उपचार तथा नियन्त्रणका लागि निजी स्वास्थ्य संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउने, कोभिड नियन्त्रण तथा उपचारका लागि सबै क्षेत्रलाई सहयोग गर्न आग्रह गर्ने, परीक्षण र उपचारको दायरालाई फराकिलो बनाउने, स्वास्थ्यकर्मीलाई व्यवस्थित रुपमा परिचालन गर्ने, होटल व्यवसाय, मनोरञ्जनस्थल, सिनेमा , व्यटि पार्लर तथा सैलुन र कुनै पनि कार्यक्रमहरुमा रोक लगाउने, अत्यावश्यक सूची बाहेकका सवारीलाई रोक लगाउने, नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सरकारी संस्थान तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गराउने, नगरभित्र सञ्चालित परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने र कोभिड उपचार तथा नियन्त्रणका लागि नगरपालिकाले गरेका निर्णयहरु पालना गर्न सबैमा आग्रह गर्ने निर्णय गरिएको छ ।
बैठकमा बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटीसहित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, वाणिज्य संघका प्रतिनिधि र सुरक्षा निकायका प्रमुख सहभागी छन् ।
बिर्तामोड नगरपालिकाभित्र शनिवारसम्म ५३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । सक्रिय संक्रमितको संख्या ५३४ जना छ भने अस्पतालमा १३ जना उपचाररत छन् । यहाँ हरेक दिन ५० भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ ।
यसअघि झापाको बुद्धशान्ति, कनकाई र दमकले शिल गरिसकेको छ भने अर्जुनधारामा आंशिक रुपमा शिल गरिएको छ ।