असार ८, कुमरखोद । झापा गाउँपालिकाको नवौं गाउँसभा प्रारम्भ भएको छ ।गाउँसभामा गाउँपालिकाको आर्थिक वर्ष २०७८–७९ को पाँचौ वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ ।
आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले प्रस्तुत गरेका थिए । झापा गाउँपालिकाले तयार गरेको प्रतिवेदनउपर जनप्रतिनिधिहरुले जनमुखी, विकासमुखी र आर्थिकमुखी भएकाले गापाले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए । झापा गापाले आफ्नो पालिकाका जनताको जीवनस्तर उकास्नको लागि मुख्य तीनवटा आर्थिक विकासका बुँदाहरुको खाका तयार गरेको छ । आर्थिक विकासतर्फ कृषि , पशु , बैक तथा वित्तीय संस्था, पर्यटन र वित्तीय व्यवस्थापन रहेका छन् ।
त्यसैगरी गाउँपालिकाले सामाजिक र साँस्कृतिक विकासतर्फ मुख्य तेह्रवटा नीतिलाई अगाडी बढाएर बजेट तयार गर्ने निर्णय गरेको छ ।
सामाजिक र साँस्कृतिक विकासतर्फ शिक्षा , स्वास्थ्य , युवा तथा खेलकुद , खानेपानी तथा सरसफाई , महिला विकास , बालबालिका , ज्येष्ठ नागरिक , आदिवासी , जनजाति, दलित सम्बन्धी नीति , अपाङ्ग सम्बन्धी नीति , यौनिक,लैङ्गिक अल्पसंख्यक, खस , आर्य सम्बन्धी नीति , संस्कृति प्रवद्र्धन तथा सामाजिक उत्थान , सामाजिक मेलमिलाप तथा न्याय निरुपण, भूमि सम्बन्धी नीतिहरु रहेका छन् । त्यसैगरी अध्यक्ष शाहले जनप्रतिनिधिले नीति तथा कार्यक्रमका बेला दिएको सुझावहरु संकलन गरी त्यसैअनुरुप बजेट बनाउने समेत जानकारी दिए ।