जेठ २० झापा । झापामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो ।
बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खोल्न दिने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खोल्न पाउने निर्णय गरेको जनाइएको छ । ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । साथै वित्तीय संस्थाको हकमा हप्ता तीन दिने खोल्न पाउने निर्णय गरेको छ । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारी साधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।