• असार १४, २०७८
  • Madan Rajbanshi
  • 0

असार १४ झापा । झापामा जारी निषेधाज्ञालाई असार २१ गते सम्मका लागि लम्ब्याइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा आज जारी गरिएको नयाँ आदेशमा अत्यावश्यक काम वाहेक हिँडडुलमा लगाइएको प्रतिवन्ध कायमै राखेपनि पसल सञ्चालनको हकमा खाद्यान्न लगायतका अत्यावश्यकीय सामग्रीका अन्य पसलहरु विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।

सवारीसाधन सञ्चालन सम्बन्धमा सबै प्रकारका निजी सवारीसाधन, सिटी/सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन हरु झापा जिल्ला भर सञ्चालन गर्न दिने आदेश गरिएको छ । होटल तथा रेष्टुरेन्टहरुले भने टेकअवे सेवा मात्र सञ्चालन गर्न पाउँने छन् ।

मलखाद तथा बिउ विजन, कुखुराका चल्ला, दाना, पशुपंक्षीका आहारलगायतका कृषि सम्बन्धि पसल विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सञ्चालन गर्न दिने उल्लेख छ ।‌‌हाट बजार, मेला, जात्रा, महोत्सव, पाटी, भोज लगायत भिड भाडहुने कार्यक्रम गर्न रोक लगाएको छ ।