साउन १६ झापा । साउन लागे यता गौरीगञ्जमा हल्का फुल्का बाहेक पानी परेको छैन । दिउसो गौरीगञ्जको तापक्रम ४१ डिग्री सम्म पुग्ने गरेको छ । दिउसोको चर्को घामले जनजीवन उस्तै कष्टकर छ । यस्तो गर्मीको बेला गौरीगञ्जको बजार क्षेत्रमा भने पानीको हाहाकार छ ।
गौरीगञ्जको बजार क्षेत्र वडा नं ३ र ६ का जनतालाई पानी खुवाउने जिम्मा पाएको गौरीगञ्ज खानेपानीमा प्राबिधिक समस्या आएको झण्डै २ महिना भइसक्यो ।
गत असार लागेदेखि धारामा धमिलो पानी आउन थालेको थियो । फिल्टर मिडिया पुरानो भएका कारण पानी धमिलो आउन थालेको भन्दै साउनको पहिलो साता समितिले एक दिन (साउन ६ गते) पानी वितरण सेवा बन्द हुने सुचना जारी गरेर फिल्टर मिडिया परिवर्तन गर्यो । त्यसपछि भने उपभोक्ताका धारामा पानी नै आउन बन्द भयो । बिहान आधा घण्टा जति धारामा पानी आउछ त्यसपछि दिनभर गौरीगञ्जका जनता काकाकुल हुन्छन् ।
यति लामो समयदेखि खानेपानी मा प्राबिधिक समस्या देखिदा पनि गौरीगञ्ज गाउँपालिका स्थानीय सरकार भने समस्या समाधान का लागि उदासीन देखिएको छ । समितिले जिल्ला खानेपानी लाइ गुहारेर ३ – ४ पटक जिल्ला बाट प्राबिधिक बोलाएपनि मुल समस्या पता लगाउन सकेन ।
लामो समयसम्म समस्या समाधान नभएपछि बुधबार जिल्ला खानेपानी का प्रमुख बिकास काफ्ले आफै गौरीगञ्ज आएर समस्या पता लगाउने कोशिस गरेपनि अझ समस्या पता लगाउन सकेनन् । उनले पानीको ट्याङ्कीमा पानी मज्जाले चढिरहेकोले ट्याङ्कीमा समस्या नरहेको र बितरण पाइप लाइन कतै फुटेको हुनसक्ने निष्कर्ष निकाल्दै उनि फर्किएका छन् ।
गौरीगञ्ज खानेपानी सरसफाई तथा उपभोक्ता समिति का सचिव गँगा राजवँशीले अब बितरण पाईप लाईनमा, समस्या रहे नरहेको पता लगाउन बुधबार २ बजेदेखि बिहिबार बिहान सम्म पानी बितरणको लाईन बन्द गरेर पहिला पुरै ट्याङ्की भर्नेे त्यसपछि बिहान पानीको लाईन खोलेर कहाँ समस्या छ भन्ने कुरा पता लगाउने बताए ।