चैत १४, भद्रपुर । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरू ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला अदालतका ज्येष्ठतम न्यायाधीश गिरीराज गौतमलाई तोकेको छ । गौतमले भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतका रुपमा समेत काम गर्नेछन् । त्यस्तै मेचीनगरको निर्वाचन अधिकृत रेल विभागका उपसचिव वेदराज फुयल तोकिएका छन् ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिकामा लालबहादुर श्रेष्ठ अर्जुनधारा नगरपालिकामा लोकबहादुर कटुवाल, कचनकवल गाउँपालिकामा वीरेन्द्र बस्नेत, कनकाई नगरपालिकामा दीपक कोइराला, कमल गाउँपालिकामा प्रकाश गौतम निर्वाचन अधिकृत तोकिएका हुन् ।
त्यस्तै गौरादह नगरपालिकामा विदुर कुमार कार्की, , झापा गाउँपालिकामा झरेन्द्र प्रसाद चापागाईँ, दमक नगरपालिकामा केशव प्रसाद पन्त, बाह्रदशी गाउँपालिकामा पुष्कलराज प्रसाईँ, बुद्धशान्ति गाउँपालिकामा डम्बरुप्रसाद निरौला, बिर्तामोड नगरपालिकामा डम्बर प्रसाद काफ्ले, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल र हल्दिबारी गाउँपालिकामा नारद प्रसाद भट्टराई निर्वाचन अधिकृतका रुपमा तोकिएका हुन ।
बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि तोकिएका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई बैशाख २ गते भित्र अभिमुखीकरण तालिम दिइसक्ने निर्वाचन आयोगले जनाएको छ ।