फागुन ११, झिलझिले ।गौरीगञ्जको कर्मचारी टोलले खेल मैदामै धर्ना दिएपछि झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।
बुधबार भएको सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको पछी गैरकर्मचारीलाई टीममा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकाविरुद्ध कमल गाउँपालिकाले आयोजकलाई उजुरी हालेको थियो । लिखित रुपमै उजुरी परेपछि गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गराएको तीन जना खेलाडी कर्मचारीको मापदण्डभित्र नपरेको भन्दै आयोजक ले कमल गाउँपालिकालाई विजयी घोषणा गरेको हो ।
आज हुन लागेको फाइनल खेलको समयअगावै गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले कमललाई खेलमा समावेश गराए खेल खल्न नदिने भन्दै स्टेजमा धर्ना दिए ।
खेल सञ्चालन गर्नदिन पटक पटकको आयोजकको अनुरोध गौरीगञ्जले नमानेपछि आजको फाइनल खेल अर्को सूचना नआउन्जेलसम्म स्थगित गरिएको आयोजकले जनाएको छ । गौरीगञ्जका कर्मचारीहरुले कमल गाउँपालिकालाई खेलमा समावेश नगराए मात्रै आफूहरुले खेलमैदान छोड्ने भन्दै आयोजकविरुद्ध नाराबाजी समेत गरे । सेमीफाइनल खेल हुनुअघि कमल र गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले प्रोटेस्ट नहाल्ने भन्दै मौखिक सहमति गरेको र पछि कमलले प्रोटेस्ट हालेको भन्दै गौरीगञ्जले आपत्ति जनाएको छ ।यता कमल गाउँपालिकाले गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरु सरोज साउदेन, निरबहादुर प्रधान र विशाल श्रेष्ठ पूर्णकालीन कर्मचारी नभएको दावी गरेको छ।