• चैत्र २६, २०७८
  • Madan Rajbanshi
  • 0

चैत २६, दमक । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली को क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी ले शक्ति प्रदर्शन गरेका छन् । शनिबार झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी ले बिशाल आमसभा को आयोजना गरी शक्ति प्रदर्शन गरेका हुन् ।

आमसभा लाई सँबोधन गर्दै प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन, सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् । ४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ अर्ब पुगेको छ ।’

उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्रपामा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा नायिका रेखा थापाले अबका नारीहरू कमजोर नभएको भन्दै राजनीतिमा आउन आह्वान गरिन् । उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पुरा गर्न आएका हौं, यसमा सबैको हातेमालो आवश्यक छ ।’

कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टाचार गरेको भन्दै फेहरिस्त सुनाए । ‘झापामा आएर भन्न मन लाग्यो, एमाले सरकारले अरबौं भ्रष्टाचार गरेको छ,’ शाहीले भने, ‘दमक नगरपालिकामा मात्रै ३ वर्षमा ८ करोड ९८ लाख बेरुजु देखिएको छ ।’ उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र राजतन्त्रबारे जनमतसंग्रह हुनुपर्नेमा जोड दिए ।

स्थानीय चुनाव नजिकिँदै गर्दा राप्रपाले एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा आमसभा गरेको हो । कार्यक्रममा राप्रपाले राजसंस्था हुनुपर्ने, देश हिन्दूराज्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गरेको घोषणा गरिएको थियो ।
(रातोपाटी डटकम बाट सँपादित रुपमा)