असार महिनामा देश भर थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । जस मध्ये सबै भन्दा बढि नयाँ मतदाता झापा जिल्लामा थपिएको छ । जिल्लागत हिसाबले नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापाका १३ हजार ७ सय ४४ जना रहेका छन् । १३ हजार ४ सय ५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो ।
आयोगका अनुसार प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशबाट ६२ हजार ८ सय ५, प्रदेश १ बाट ५३ हजार ७ सय ७५ र मधेस प्रदेशबाट ४७ हजार ७ सय ५२ जनाले नामावली दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेको थियो। आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको हो।
(नेपाल समाचारपत्र दैनिकबाट सम्पादित रुपमा)