कार्तिक २, गौरीगञ्ज । सोमबार साँझ देखि परेको अबिरल वर्षा र हावाहुरीका कारण गौरीगञ्ज लगायत झापाका सबै पालिका हरुका कृषकहरु मारमा परेका छन् ।

हिजो साँझ देखि पारिरहेको अविरल वर्षाका कारण रतुवा, किस्नी, कमल कन्काई लगायतका नदिहरुमा पानीको सतह बढेको छ भने गौरीगञ्ज वडा नँ १ को एउटा सिंगो वस्ति नै डुवानमा परेको छ । वडा नँ १ को देवीघडा देखि पुर्व भिम बस्ती पुर्ण रुपमा डुबानमा परेको कुरा वडासदस टँक श्रेष्ठ ले जनाएका छन् । हलिको पानी भिम बस्ती मा पसेको हो । देवीघडा को सामुदायिक भवन देखि पुर्व जान सकिने अवस्थै छैन – उनले भने । भिम बस्ती को २२ घर परिवार डुवानमा रहेको र प्रतिकुल मौसमका कारण उद्दारमा समेत समस्या भइरहेको यद्यपि प्रहरी चौकी महाभारा बाट खटिएका सुरक्षाकर्मी तथा स्थानीय हरुको सहयोगमा उद्धार कार्य भइरहेको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी ले जनाएका छन् ।
त्यसै गरि कन्काई नदिको निर्माणाधीन पुल देखि पश्चिम ईश्वर बस्ती मा ३ घर डुवानमा परेको वुझिएको छ । वालुबाडी, चौरी र होकलबाडी गाउँमा समेत पानी पसेको कुरा वडाध्यक्ष राजबँशीले जनाएका छन् । चौरी बाट होकलबाडी जाने सडकको पुल समेत बगाएको र सो क्षेत्रमा पाक्न लागेको धान बाली पुर्ण रुपमा डुबाएको कुरा वडा सदस्य टँक श्रेष्ठले बताएका छन् । होकलवाडी, चौरी र वालुबाडीको बस्ती मा के कति क्षति पुगेको भन्ने विवरण आईसकेको छैन ।


हाम्रो वडामा यसपाली सबैभन्दा बढि क्षति यहि दुइ दिनको वर्षाले भएको हो – वडाध्यक्ष राजबँशीले भने । यकिन विवरण सँकलन नभएपनि बालुवाडी देविघडा, चौरी होकलबाडी बिर्खे बस्ती लगायत समग्र वडा नँ १ मा हजारौ बिघा पाक्न लागेको धानबाली मा क्षति पुगेको कुरा उनले बताएका छन् ‌ । बर्षाका कारण बिस्थापित हरुलाई उद्दार गरि टुनु बस्ती स्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताएका छन् ।

त्यसै गरि अन्य वडाहरुमा समेत हजारौ बिघा पाक्न लागेको धानबाली मा क्षति पुगेको कुरा स्थानीय हरुले बताएका छन् ।

हिजो देखिको प्रतिकुल मौसमले गौरीगञ्ज लगायत झापामा करिब १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुर्याएको कुरा कृषि ज्ञान केन्द्र झापाले बनाएको छ ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण सोमबारदेखि हावासहितको वर्षा भइरहेको छ ।

हालसम्म जिल्लाको १० देखि १५ प्रतिशत धान बालीमा क्षति पुगेको र हावा हुरी र पानी नरोकिए क्षति अझ बढ्न सक्ने ज्ञान केन्द्र ले बनाएको छ ।

यस वर्ष करिव ९० हजार हेक्टरमा धान बाली लगाइएको थियो । खासगरी पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा राखिएको धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले बताए । ‘ जिल्लाका सबै पालिकाहरुमा क्षति पुगेको छ- उनले भने ´हावापानी नरोकिएकाले क्षति अझ बढ्न सक्छ ।’ मन्सुली , रंजित, आरपिजस्ता धानमा बढी क्षति पुगेको कृषि अर्थविज्ञ भट्टराईले जानकारी दिए ।