• फाल्गुन १०, २०८०
  • Madan Rajbanshi
  • 0

झापाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा गौरीगञ्ज गाउँपालिकाले नियम विपरीत खेलाडी समावेश गरेको भन्दै आयोजक शिवसताक्षी नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई कारवाही गरेको छ । यो कारवाही सँगै भोली हुने फाइनल खेलमा बिर्तामोड नगरपालिका सँग गौरीगञ्जको साटो कमल गाउँपालिकाको प्रतिस्पर्धा हुने भएको छ ।

हिजो बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिका बिरुद्ध कमल गाउँपालिकाले उजुरी दिएका थिए । कमलले लिखित रुपमै निवेदन दिएपछि आज बसेको आयोजक समितिले कमल गाउँपालिकाको प्रेटेक्ट सदर गरेको छ । गौरीगञ्ज गाउँपालिले खेलमा समावेश गरिएको खेलाडी नियमसंगत भएको पुष्टी गर्न नसेकेपछि कमललाई फाइनलका लागि बोलाइएको खेल आयोजक समितिका संयोजक प्रकाश चौधरीले बताएका छन् । ।
गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरु सरोज साउदेन, निरवहादुर प्रधान र विशाल श्रेष्ठ किसान सूचिकरण कार्यक्रमको सहजकर्ता रहेको र पुनः निजहरुलाई रोजगार प्रवद्र्घन केन्द्र (सामी) कार्यक्रम अन्तरगत गौरीगञ्ज गा.पा.को पाश्र्वचित्र तयारीको लागि बैदेशिक रोजगारी सम्बन्धी तथ्यांक संकलक नियुक्ति दिएको देखिएकोमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७५ भदौ १२ गतेको अस्थायी तथा सेवा करार तर्फका जनशक्ति व्यवस्थापन गर्ने सम्वन्धी परिपत्रको वुंदा नं. १ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ (३) मा सेवा करारबाट लिइने कर्मचारीको दरवन्दीको व्यवस्था रहेको साथै सोही ऐनको दफा ८३ (८)मा गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, वंगैचे र सरसफाई सम्वन्धमा पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनु पर्ने उल्लेख छ । सो वाहेकको अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न पाइने छैन भनी स्पष्ट व्यवस्था रहेको संयोजक चौधरीको भनाई छ ।
गौरीगञ्ज गाउँपालिमा नियुक्त भएका कर्मचारी कृषि शाखा तथा सामी शाखाद्वारा सञ्चालित कार्यक्रमको गणक रहेको देखिएकाले स्थानीय सरकार संञ्चालन ऐन २०७४ को व्यवस्था भित्र नपर्ने, त्यसैगरी कोशी प्रदेश स्थानीय सरकार सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन को दफ २(ख) कर्मचारीको परिभाष भित्र समेत नपर्ने देखिएकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८०को सर्तहरु अन्तर्गत बुँदा नं. ५ मा कर्मचारी बाहेकको कुनै खेलाडी खेल्न पाइने छैन स्पष्ट लेखिएको हुँदा गौरीगञ्ज गाउँपालिकाको टिमलाइ बर्खास्त गरि कमल गाउँपालिकाको टिमलाइ सेमि फाइनलको बिजेता घोषित गरेको कुरा आयोजकले पत्र मार्फत गौरीगञ्ज गाउँपालिकालाइ जानकारी गराएको छ ।
यो सँगै भोली हुने फाइनल खेल विर्तामोड नगरपालिका र कमल गाउँपालिका बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।