Happy Tihar 2082

विराटनगरका पुर्वउपप्रमुख सहित ९ जनामाथि भ्रष्टाचार मुद्दा

पढ्न समय: 2 मिनेट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले शुक्रबार उनीहरुविरुद्ध विगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपितमा नगर उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलम छन् ।

यस्तै पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

- Advertisement -
Ad image

महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुर्‍याएको बताइएको छ ।

तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका १५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्‍कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी पुर्‍याएको ठहर गर्दै अख्तियारले उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए ।

यस्तै तत्कालीन प्रशासकीय अधिकृत अधिकारीसहित पोखरेल, प्रधान र आलमलाई १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ । साथै उपभोक्ता समितिका अध्यक्ष सुडी, सचिव आचार्य र कोषाध्यक्ष घिमिरेमाथि पनि १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ ।
(कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्