पुर्व प्रधानमन्त्री माधव नेपाल सहित ९३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पूर्वकानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह र पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ सहित ९३ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ।
पताञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।
पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।
त्यस्तै पुर्व प्रधानमन्त्री नेपाल सहित अख्तियारले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, शाखा अधिकृत नवराज बस्नेत, गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह तत्कालीन मन्त्रिपरिषद्को सचिव स्व. माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जीतबहादुर थापा र लालमणि जोशी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव कलानिधी पौडेल, गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि केसी लगायत ९३ जना बिरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता लगतै पुर्व प्रधानमन्त्री नेपालको हालको साँसद पद निलम्बनमा पर्ने भएको छ ।