मदन राजवँशी
गौरीगञ्ज मँसिर १ । देश नयाँ सँरचनामा जानु अगाडी बर्षाको सिजनमा गौरीगञ्जको ठेकीटोल चोकबाट दक्षिण झर्न एकदमै कठिन काम हुन्थ्यो । बाटो भरी हिलै हिलो त्यसै माथि बाटै भरि ट्याक्टर र राँगा भैसीको आहालले बनेका खाल्डा खुल्डीले साइकल मोटर साइकल त के पैदल यात्री पनि हैरानै हुन्थे ।

ठेकिटील चोक दक्षिण अलिक तल निम्न बर्गिय ४०— ४२ परिबारको बसोबास रहेको सुदामभिट्टा गाउँका बासिन्दा बर्षाको बेला गौरीगञ्ज बजार निस्कन निकै सास्ति खेप्नु परेको अनुभव त्यहाका पुराना बासिन्दा जवाहार पासवान सुनाउछन् ।
देश नयाँ सँरचनामा गए पश्चात गाउँमा निर्वाचित जन प्रतिनिधि आएसँगै अहिले सुदामभिट्टा गाउँको मुहार फेरिएको कुरा स्थानीय गोमा थापा सुनाउछिन् । उनि भन्छिन् — पहिला बर्षको बेला मात्र हैन हिउदको बेला पनि गाउँबाट निस्कन गाह्रो थियो । खाल्डै खाल्डो परेको सडकमा मुस्किलले साइकल कुदाउन सकिन्थ्यो तर अहिले त्यो दुख रहेन ।
स्थानीय तहको पहिलो निर्वाचन पश्चात पहिलो बर्षमा नै यस टोलमा रु ९ लाख बजेट छुट्टियो । त्यहि बजेटले गाउँको त्यो बेजान सडकमा ग्राभेल गरियो । पछिल्लो पटक खुल्ला दिशा मुक्त गाउँ बनाउने अभियान चलेसँगै गाउँमा घर घरै शौचालय थपियो । शौचालय थपिए सँगै गाउँमा सरसफाइ को माहौल नै चल्यो ।
अहिले यो टोलमा झण्डै एकै खालका आर्थिक हैसियत भएका मिश्रित जातजातिका ४४ परिबारको बसोबास छ ।
शनिबार गाउँपालिकाको समन्वयमा सो गाउँमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । मँसिरमा धान काट्ने कामको चटारो चटक्कै बिर्सेर टोलबासीहरु सरसफाइमा होमिएका थिए । सबैको अनुहार हसिलै देखिन्थ्यो ।
अहिले यो गाउँको नयाँ न्वारन गरिएको छ— नमुना टोल ।
सरसफाइ कार्यक्रममै भेटिएका वडा नँ ३ का वडाध्यक्ष मखना महतो वडा सदस्य सोमनी देवी पासवान र पुर्ण सरसफाइ अभियानका पालिका सँयोजक उज्वल भण्डारी गाउँवासी सँग एकदमै खुशि देखिन्थे भने गाउँबासीहरु पनि यिनीहरुसँग सँतुष्ट देखिन्थे । फर्किने बेलामा लाग्यो— जन प्रतिनिधि अभियन्ता र गाउँबासीको मन मिले नमुना टोल साच्चै नमुना बन्ने रहेछ ।