Happy Tihar 2082

दमकको सरकारी जग्गा घोटाला प्रकरण : माओबादी नेता पुरी सहित ९ जना भ्रष्टाचारी ठहर

पढ्न समय: 2 मिनेट

 २८ साउन, काठमाडौं । झापाको दमक स्थित बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा माओबादि नेता रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनिहरुलाइ भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

- Advertisement -
Ad image

अदालतले गगन भनिने रेवतराज पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै नापी सर्वेक्षक यादवलाई १ वर्ष कैद र १८ लाख ७४ हजार ३ सय ९८ रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । 

त्यस्तै सर्वेक्षक विन्देश्वर पंजियारलाई १ वर्ष कैद र १८ लाख ९ हजार ९ सय ५८ रुपैयाँ जरिवाना गरेको छ । नापी अधिकृत रामदेश मण्डललाई ६ महिना कैद र २ लाख ६५ हजार ५ सय ४४ रुपैयाँ, ललितकुमार मण्डललाई तीन महिना कैद र ५८ हजार ७ सय २५ रुपैयाँ, रुद्रप्रसाद श्रेष्ठलाई ६ महिना कैद र ३ लाख १६ हजार ७ सय ७१ रुपैयाँ जरिवाना, रामकुमार दासलाई तीन महिना कैद र १ लाख २ हजार ९ सय ७१ रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।

त्यस्तै गणेश कुमार धिमाललाई एक वर्ष कैद र ९ लाख ८३ हजार ८ सय १२ रुपैयाँ जरिवाना र विष्णुदेव यादवलाई तीन महिना कैद र १८ हजार ३ सय ४४ रुपैयाँ जरिवाना तोकेको छ । तत्कालीन नापी अधिकृत शसीकान्त झालाई भ्रष्टाचारी ठहर गरे पनि मृत्यु भइसकेकाले सजाय निर्धारण भएन ।

अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।

यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

पुरी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्