Happy Tihar 2082

झापाको डाँगीटोलका गनगाई जातिका आदिवासी भुजा व्यापारले घरखर्च जुटाउँदै

पढ्न समय: 3 मिनेट

खजुरगाछी, झापा — इन्द्रवती गनगाईले घर खर्चका लागि श्रीमान्सँग पैसा मागेको सम्झना छैन । आफूलाई आवश्यक सबै कुरा आफैं पुर्‍याउँदै आएकी छन् । उनको नियमित आम्दानीको स्रोत हो, मुरई (भुजा) बनाएर बिक्री गर्नु । गनगाईले २५ वर्षदेखि भुजा बनाउने काम गर्दै आएकी छन् । 

सीमावर्ती बस्ती । बस्तीमा ६० परिवारको बसोबास । उनीहरू सबै आदिवासी गनगाई जातिका । झापाको गौरीगन्ज गाउँपालिका ५ डाँगीटोलाका सबै घरमा भुजा बनाइन्छ । उक्त टोलका महिलाको स्थायी रोजगारी नै हो, भुजा बनाउने । जिल्लामा ‘भुजा’ खाजाको रूपमा खाने चलन छ । गौरीगन्ज, गौरादह, दमक, केर्खा, झिलझिले, दूधे, सुरुङ्गा, बिर्तामोडलगायतका बजारसम्म डाँगीटोलाको भुजा पुग्ने गरेको छ ।

- Advertisement -
Ad image

जसमती गनगाईले भुजा बिक्री गरेर ६ जनाको परिवारको घर खर्च धानेकी छन् । उनी विवाह गरेर डाँगीटोला आएको १० वर्ष भयो । विवाह गरेकै सालदेखि उनी आफैंले भुजा बनाएर बिक्री गर्दै आएकी छन् । ‘हामी महिलाहरूको आम्दानीको मुख्य स्रोत नै भुजा हो’ जसमतीले भनिन्, ‘गाउँका सबै महिलाले यही काम गर्ने गरेका छौं ।’ डाँगीटोलाका ६० परिवार सबै घरका महिलाले भुजा बनाउँछन् । भुजा बनाएर सातामा दुई पटक बिक्री गर्न बजार लैजान्छन् । बुधबार गौरीगन्ज र शनिबार खजुरगाछीमा बजार लाग्छ । ती दुवै बजारमा भुजा किन्न दमक, पाडाजुँगी, झिलझिले, गौरादहबाट व्यापारीहरू पुग्छन् ।
बजारको दिन, प्रत्येक गनगाई महिलाले १० केजीदेखि २० केजीसम्म भुजा बिक्री गर्न ल्याएका हुन्छन् । उनीहरूले व्यापारीलाई ९० रुपैयाँ प्रतिकेजीका दरले भुजा बिक्री गर्छन् । व्यापारीहरूले एक सय २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्छन् । ‘भुजा बिक्री गरेको पैसाले बजार गछांर्,ै’ मन्तोदेवी गनगाईले भनिन्, ‘आवश्यक कुरा किनेर बचेको पैसा बचत गर्ने गरेको छु ।’ घरका सबै काम गरेर बचेको समयमा भुजा बनाउने गरेको फेक्रीदेवी गनगाईले बताइन् । उनले घरमै बसीबसी भुजा बिक्रीबाट मासिक ८–१० हजार रुपैयाँ आम्दानी हुने गरेको सुनाइन् ।
भुजा, आदिवासी राजवंशी, गनगाई, ताजपुरिया, सन्थाल, मेचे, झाँगड, कुमाल, माझी जातिको भातपछिको खान्की हो । आदिवासी समुदायको बसोबास जिल्लाको ग्रामीण क्षेत्रमा बढी छ । खेती किसानी गर्ने आदिवासी जातिले दिउसो १२–१ बजे र राति ९ बजेतिर मात्रै खाना खान्छन् । त्यसअघि खाजाका रूपमा चिया, तरकारीसँग भुजा खाने गर्दछन् । पाहुना आउदा ‘चना–भुजा’ खुवाउने चलन छ । पूजा, विवाह समारोहमा पनि भुजा खुवाउने चलन छ ।
राजवंशी जातिमा छोरी–चेलीलाई माइती पक्षले कोसेलीको रूपमा पनि भुजा पठाउने चलन छ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा ‘माछा–भुजा’ को व्यापार उच्च छ । दमकको चिनारीकै रूपमा माछा–भुजालाई लिने गरिन्छ । जिल्लाका होटलहरूमा चना–भुजा लोकप्रिय खाजा हो । मिलमा तयार गरिनेभन्दा घरमा तयार गरिएको भुजा स्वादिष्ट र स्वास्थ्यकर हुन्छ । भुजा मोटो मुसुली धान (स्थानीय भाषामा भाले धान भनिन्छ) बाट तयारगरिन्छ । धानलाई राम्ररी सुकाएर आधा घण्टा पानीमा भिजाइन्छ । त्यसपछि उसिन्नुपर्छ । उसिनेको धान दुई दिनसम्म घाममा सुकाउनुपर्छ । धान मिलमा लगेर कुटाएपछि उसिना चामल बन्छ । उक्त चामललाई माटोको भाडोमा पकाएर भुजा बनाइन्छ ।

२० केजी धानबाट १२ केजी भुजा तयार हुन्छ । १२ केजी भुजा तयार पार्न करिब चार घण्टा समय लाग्छ । आदिवासी बस्तीमा घरमै खानका लागि पनि भुजा बनाउने चलन छ । पछिल्लो समय घरेलु भुजाको माग बढ्दै गएकाले आदिवासी महिलाहरू व्यावसायिक बन्दै गएका छन् । घरकै चुल्होचौकामा दिन बिताउने गरेका आदिवासी महिलाहरूलाई भुजाको व्यापारले घरघरमै रोजगारी दिएको छ ।

ईकान्त्पुर डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *