जम्मा ६ किलोमिटर सडक उद्घाटन गर्न ५ भिआइपीको लर्को
बैशाख ६ चितवन । चितवनको भरतपुर उपमहानगरपालिकामा बनेको जम्मा ६ किलोमिटर कालोपत्रे सडक उद्घाटन गर्न राज्यकोशको भरपुर दोहन भएको पाइएको छ । हिजो ६ किलोमिटर सडकको उद्घाटन गर्न देशको प्रधानमन्त्री सहित ५ भिआइपी पुगेका थिए ।
तोकिएको समयभन्दा २० महिना ढिला सम्पन्न चितवनको भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेनको ६ किलोमिटर सडकको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले संयुक्त रुपमा सडक उद्घाटन गरेका हुन् ।
एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण भएको ६ किमि सडकको १७ माघ ०७७ मा आफैँ प्रधानमन्त्री भएका वेला ओलीले नै शिलान्यास गरेका थिए । तर, काममा भएको ढिलासुस्तीमा खबरदारी गर्ने, बजेटका लागि पहलकदमी लिने, साइट क्षेत्रका अवरोध हटाउनेलगायत समन्वय भरतपुर महानगरपालिकाले गरेको थियो ।
६ किमि सडक उद्घाटन गर्न प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतको भिआइपी टोली नै भरतपुर पुग्नुलाई प्रचारबाजी भनेर आलोचना हुन सक्ने आकलन गरेका ओलीले अहिले चुनाव नलागेकाले प्रचार गर्न आवश्यक नरहेको बताए । भरतपुरको मेयर माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल भएकाले पनि उक्त सडक निर्माणको जस लिने विषयमा राजनीतिक तहमा प्रतिस्पर्धा देखिन्छ ।
देशमा स्थानिय सरकार हुँदाहुँदै सानातिना भौतिक सँरचनाहरुको उद्घाटन गर्न देशकै प्रधानमन्त्री लगायतका भिआइपीहरुको हानथाप हुनुले नेताहरुको उद्घाटन मोहलाइ उजागर गरेको छ ।