गौरीगञ्ज दर्पण डटकमले सुचना माग गरेपछी गौरीगञ्ज गाउँपालिकाका प्रशासन शाखा प्रमुखले आफ्नो नाममा रहेको बेरुजु रकम फर्च्योट गरेको छ । पालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद चँदाराले फागुन १ गते आफ्नो नाममा देखिएको बेरुजु रकम रु २ लाख ८३ हजार १ सय २५ रुपैया पालिकामा दाखिला गरेको कुरा लेशा शाखा प्रमुख मञ्जु भट्टराइले जनाएकी छन् ।
महाँलेखा परीक्षकको २०७९ सालको प्रतिवेदनले चँदाराको नाममा रहेको बेरुजु २ लाख २५ हजारको ब्याज सहित रु २ लाख ३४ हजार रुपैया पालिकालाइ तिर्न बाँकी रहेको देखाएपनि तिन बर्ष देखि उनले सो रकम तिर्न आलटाल गर्दै आइरहेका थिए ।

यस बारे सुचना पाएर गौरीगञ्ज दर्पण डटकमले गएको माघ २७ गते शाखा अधिकृत नारायण प्रसाद चँदाराको नाममा रहेको बेरुजु रकमको अबस्थाबारे सुचना माग गरि निवेदन दर्ता गराएका थिए । निवेदन दर्ता गरेको ४ दिन पछी चँदाराले सो रकम पालिकामा दाखिला गरेको हो । रकम दाखिला पछी चँदाराले सो रकम सँबन्धी सुचना मागको निवेदनको प्रतिउत्तर दिदै उनले रकम फर्च्योट गरेको जवाफ दिएका छन् । उनले फागुन १ गते बेरुजु रकम दाखिला गरि त्यसको ८ दिन पछी सो निवेदनको प्रतिउत्तर दिदै साबिकको पेश्की रकम रु २ लाख २५ हजारको चालु आर्थिक बर्ष सम्मको ब्याज रु ५८ हजार १ सय २५ समेत जम्मा रु २ लाख ८३ हजार १ सय २५ रुपैया चालु आब मा नगदै दाखिला गरिसकेकोले आफ्नो नाममा हाल पेश्की बेरुजु बाँकी नरहेको प्रतिउत्तर पठाएका छन् ।

२०७९ सालमा योजना शाखाको जीम्मेबारी मा रहेका शाखा अधिकृत नारायण प्रसाद चँदाराले सोहि साल सिरक खरिदका लागि पालिका बाट रु ७ लाख ५० हजार रुपैया पेस्की उठाएर रु ५ लाख २५ हजारको ५ सय थान मात्र सिरक खरिद गरेको बिल पेस गरेका थिए । बाँकी २ लाख २५ हजार रुपैया पालिकामा फिर्ता नगरेपछी महालेखा परीक्षकको प्रतिवेदन २०७९ ८० ले सो रकमबारे प्रश्न उठाएको थियो ।

गौरीगञ्ज दर्पण डटकमले माग गरेको अर्को सुचना अनुसार शाखा अधिकृत चँदारा गएको आर्थिक बर्षको ३ सय ६६ दिन मध्ये १ सय ७३ दिन मात्र कार्यालयमा उपस्थित भएको देखिएको छ । प्राप्त तथ्याँक अनुसार महिनाको गणना गर्ने हो भने यिनी १ बर्ष १ दिनमा जम्मा ५ महिना २३ दिनमात्र कार्यालय आएको देखिएको छ । ३ सय ६६ दिन मध्ये सार्वजनिक बिदा को ८४ दिन कटाएर बाँकी रहेको २ सय ८२ दिन मध्ये ३३ दिन बिदामा बसेको ४३ दिन तालिममा गएको र ५७ दिन काजमा गएको दर्खिएको छ । चालु आर्थिक बर्षमा पनि गएको २ सय ११ दिन मध्ये यिनी १ सय १० दिन मात्र कार्यालय आएको देखिएको छ । गएको आर्थिक बर्षमा योजना शाखाको जिम्मेबारीमा रहेको यिनी प्राय कार्यालय नआउदा सेवागाराहीहरुले दैनिक जसो सास्ती खेप्दै आका थिए भने योजना फर्च्योटमा समेत ढिला सुस्ती देखिएको थियो ।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु एक आपसमा मिल्न नसक्दा केहि बर्षयता कर्मचारी प्रसाशनमा मनमौजी सँस्कारको बिकास हुदै गएको छ भने पालिका भित्र बिकास योजनाका कामहरु समेत सुस्ताउँदै गएको छ ।