काठमाडौँ – ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको खबर देशसञ्चार डटकममा छ |
मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । दुवै दिन दुुई सिफ्टमा सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुनजे भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ।
एचआरडी कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। जसमा उत्पादन मुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनको षेत्रमा तीन हजार जनाको कोटा निर्धारण गरिएको छ । एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आवेदन फारम भर्न सकिनेछ । उत्पादनमुलक क्षेत्रमा तीन उपक्षेत्र र कृषितर्फ दुुई मध्ये एक उपक्षेत्र छनोट गर्नुपर्ने छ।
भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् । भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्रै यसमा सहभागी हुनेहरुको विपवरण प्रकाशित हुनेछ । भाषा परीक्षामा उत्तिर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल र प्रहरी रिपोर्ट प्रतिकुल हुनेले रोजगार आवेदन फारम भर्न पाउने छैनन् ।
परीक्षा फारम भर्न २४ डलर लाग्नेछ । जुन ग्लोबल आईएमई बैंकका शाखामा आईएमई पे तथा ई सेवा मार्फत जम्मा गर्नुपर्नेछ ।
भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ। परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपीएसको वेवसाइडबाट हेर्न सक्नेछन् ।
तर कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने ईपीएस शाखाले जनाएको छ।