Happy Tihar 2082

कक्षा १२ को नतिजा सार्वजनिक

पढ्न समय: 2 मिनेट

 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।  सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।  

नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ ।

- Advertisement -
Ad image

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ रहेको छ ।

त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन्। यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन् ।

२.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ। २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन्। १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ मात्र रहेको छ ।

यो वर्ष नियमित तर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेडेड भएका छन्। आंशिक तर्फ भने १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमित तर्फ ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ६१.१७ छ भने आंशिक तर्फको ग्रेडेड प्रतिशत ३६.४९ मात्र छ ।

परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएका कारण कुल १७ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्