अब दमकमा पनि रु ५ मै अघाउञ्जेल खाना

पढ्न समय: 3 मिनेट

राजु पोखरेल
दमक / आजकाल एक सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयाँमा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यो वास्तविकता हो । दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडि तपाईले यो दरमा खाना खान पाउनु हुन्छ । इलाम चुलाचुलिका कुमार राईको सक्रियतामा उनका केही साथीहरुले मिलेर ५ रुपैयाँमा बुधबारबाट पेटभरि खाना खुवाउन थालेका छन् ।
उनीहरुले खानाबाट उठेको रकम इलामका मिर्गौला पीडित शुक्र राज लिम्बुको उपचारमा सहयोग गर्ने बताएका छन् । लिम्बू हाल मिर्गौलाको उपचारको लागि काठमाडौमा रहेका छन् ।
स्थानीय दाताहरुसँग चामल दाल, तरकारी सहयोग मागेर खाना खुवाउन थालिएको राईले बताए । उनले भने ‘कसैलाई आफ्नो नामबाट खाना खुवाउन चाहेमा पनि हामीले उनीहरुको नामबाट खाना खुवाउँछौं ।’ जन्म दिनको अवसर पारेर, आफना आफन्तको मानमा पनि खाना खुबाउन पाईने राईले बताए ।
बजारमा शुद्ध खाना पाउनै गाह्रो रहेको अवस्थामा आफूहरुले यो अभियान सुरु गरेको बताए । ‘बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले हामीले यो सानो सुरुवात गरेका छौं,’ उनले भने, सहयोगी हातहरुबाट सहयोग जुटाएर निःशुल्क खाना पनि खुवाउन सकिने तर सबै मानिस खान नआउने भएकाले ५ रुपैयाँ शुल्क तोकेर शुद्ध खाना पेटभरि खुवाउने अभियान सुरु गरेको राईले बताए । ‘निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खान आउँदैनन्,’ उनले भने, ‘त्यसैले धनी, गरिब सबैलाई बराबर ५ रुपैयाँमा पेटभरि खाना खुबाएका छौँ । उनीहरुले शनिवार भने १० रुपैयाँमा मासु खाना खुवाउने बताए । राईले भने बिरामीको उपचारको लागि रकम माग्दा मानिसहरु दिन गाह्रो मान्छन त्यसैले यस्तो कार्य सुरु गरेका हौ ।
बुधबार करिव २ बोरा चामल तथा तरकारी पकाएको बताइएको छ । भने गोर्खा डिपार्टमेन्ट अगाडि मानिसहरुको राम्रो उपस्थिति हुने भएकाले यो कार्य गरिएको राईले बताए । राई भन्छन् पैसा हुनेहरुले राम्रा–राम्रा होटल जान सक्छन तर पैसा नहुनेले भोकभोकै बस्नु पर्ने समस्यालाई अन्त्य गर्न पनि आफुहरुले यो कार्य गरेको बताउँछन् ।
कम पैसा हुनेहरुले पनि पेटभरी शुद्ध खाना खान पाउँदा खुसी भएका छन् । एक ब्याक्ति भन्छन् आफू गरिब भएको र होटलमा पनि खान नसकेको बेला यो कार्य गरिवका लागि पुन्य भएको बताउँछन् । दाताहरु पनि ५ रुपैयाँमै भोका, गरिब, विपन्नलाई पेटभरि खुवाउन पाएकोमा खुसी छन् । ‘सुरुबातमा नै धेरै गरिब, विपन्न र भोका मानिसहरु आउने थालेका छन् । खाना खान आएका एक व्यक्ति खुशी हुँदै भन्छन् अब दमकमा भोकै नबस्ने दिन आएछ । सस्तोमा खाना खुवाउने अभियान भारतका विभिन्न राज्यमा त्यहाँका सरकारले नै चलाएपछि नेपालमा भरखरै बिराटनगरबाट शुरु भएको हो ।
अहिले गोर्खा डिपार्टमेन्ट अगाडि खाना खुवाइरहेको र अब उचित ठाउँमा व्यवस्थापन गरेर निरन्तरता दिने राईले बताए  ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *