चैत ९ काठमाण्डौ – सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छुटेका छन् । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाण्डौ ल्याएको थियो ।

गएको साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र वि.स.२०७९ साल पुसमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि भने सीआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।