
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक : चैत ५ गते मतदान
फागुन ९ काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (टियु)ले चैत ५ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार टियुले फागुन १९ गतेदेखि निर्वाचन प्रक्रिया थाल्ने भएको छ। फागुन १९ गते संघ/संगठनको दर्ता, २१ गते मतदाता सूची प्रकाशन गर्ने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, २५ गते ५ बजे मतदाता सूचीको अन्तिम नामावली प्रकाशन गर्ने टियुले जनाएको छ।

त्यस्तै फागुन २६ गते ११ बजेदेखि २ बजेसम्म मनोनय पत्र वितरण, २७ गते ११ देखि २ बजेसम्म मनोनयन पत्र नामावली दाखिला गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध र छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारी फिर्ता लिने समय र २९ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको टियुले जनाएको छ। त्यस्तै प्रचार प्रसार फागुन २९ देखि चैत २ गते १२ बजेसम्मको लागि समय दिइएको छ।