गौरीगञ्ज गाउँपालिका भित्रका बिद्यालयमा कार्यरत ३ जना शिक्षकहरु बिद्यालय समयमा पढाउन छोडेर पार्टीको कार्यक्रममा सरिक हुदै आएको पाइएको छ । हिजो आइतबार दिउसो २ बजे देखि वडा नँ २ मा भएको नेपाली काँग्रेसको गाउँ सम्मेलनमा ३ जना सरकारी बिद्यालका शिक्षकहरु बिद्यालय छोडेर पार्टी कार्यक्रममा सहभागि भएको कुरा सार्वजनिक भएको छ ।

गौरिगञ्ज वडा नँ ३ स्थित गौरीगञ्ज प्राबिका प्रधानाध्यापक हरिलाल यादव वडा नँ २ स्थित आधारभुत जनकल्याण प्राबिका प्रधानाध्यापक गोपाल ताजपुरिया र वडा नँ १ स्थित रामजानकी आधारभुत बिद्यालयका शिक्षक देव ताजपुरिया बिद्यालय समयमा पढाउन छोडेर पार्टी कार्यक्रममा सहभागि भएको पाइएको छ । अचम्मको कुरा त के छ भने पालिका भित्रका शिक्षकहरु नियम बिपरितको कृयाकलाप गरे त्यसलाइ कारवाहिको दायरामा ल्याउने दायित्व बोकेका शिक्षा समिती सँयोजक तथा गाउँपालिका अधयक्ष फुलबती राजवँशी समेत सोहि कार्यक्रममा उपस्थित रहेकी थिइन भने उनले ति शिक्षकहरुलाइ नियमको दायरामा ल्याएर गौरीगञ्जको शिक्षा क्षेत्रलाइ सुधार्नुको साटो कार्यक्रममै ति शिक्षकहरुसँग फोटो सेसन गरेको पाइएको छ । फोटोमा राम जानकी बिद्यालयका शिक्षक देब ताजपुरिया नदेखिएपनि उनि सो कार्यक्रममा सहभागि रहेको कुरा एक जना नेपाली काँग्रेसकै कृयाशिल सदस्यले गौरीगञ्ज दर्पणलाइ जानकारी दिएका छन् ।

हिजो पुस ७ गते आइतबार सार्वजनिक बिदा थिएन भने सो कार्यक्रम दिउसो २ बजेदेखि ४ बजे सम्म भएको थियो । सोहि पार्टी कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले नियम बिपरित गाउँपालिकाको सरकारी गाडी दुरुपयोग गरेको समाचार हिजै गौरीगञ्ज दर्पण डटकमले सार्वजनिक गरेको थियो ।

अध्यक्ष फुलबती राजवँशीले २०७९ सालमा आफु अध्यक्षको उम्मेद्वार हुदा गौरीगञ्जको शिक्षा क्षेत्र सुधार्ने प्रतिबद्धता आफ्नो चुनाबि घोषणापत्रमा उल्लेख गरेका थिए । तर निर्वाचित भएपछिको आफ्नो कार्यकालको आधा भन्दा धेरै समय गुज्रिसक्दा गौरीगञ्जको शिक्षा क्षेत्र दिनानुदिन खस्किदै गएको पाइएको छ भने गौरीगञ्ज गाउँपालिका कार्यालय नजिकै रहेको एतिहासिक बिद्यालय गौरीगञ्ज माबिको यस बर्षको एसइइ नतिजा इतिहासमै सबैभन्दा कमजोर आएको छ ।