फागुन २९, गौरीगञ्ज ।‌ बैरिया नाका बाट हुने तस्करी बाट आजित भएका गौरीगञ्ज वडा नँ ४ का स्थानीय हरुले आईतबार राती १ गाडी अबैध माछा नियन्त्रणमा लिएका छन् । भारतबाट ल्याउदै गरेको अवस्थामा २१ वटा थर्माकोलको बक्समा रहेको फर्मालिन युक्त माछा उनिहरुले वडा नँ ४ कदमगाछी स्थित सरस्वती प्राबि नजिकै बाट नियन्त्रणमा लिएको हो ।‌ नियन्त्रणमा लिईएको सो माछा अहिले भवानीपुर स्थित सीमा प्रहरी चौकी को जिम्मा लगाईएको छ ।

सो नाकाबाट सशस्त्र प्रहरी कै मिलेमतोमा रात भरी तस्कर हुने गरेको कुरा स्थानीय हरुले आरोप लगाएका छन् । “हामीले आफै खानका लागि भारत बाट एक टिन तेल ल्याउदा पनि सशस्त्र प्रहरी ले पक्रीन्छन् तर उनिहरुले नै रात भरी सेटिङमा तस्कर हरुलाई ट्रक का ट्रक सामान ल्याउन सघाउँछन्” – एक स्थानीय युवाले बताए ।हामी तस्कर र सशस्त्र प्रहरी देखि आजित भएर आज आफै सामान पक्राउ गर्न बाध्य भएका छौँ – उनले भने ।

भारत बाट माछा लगायतका कृषि जन्य सामग्री नेपाल भित्र्याउन अनिबार्य क्वारेन्टाइन गर्नु पर्ने नियम छ भने फर्मालिन युक्त माछा नेपाल मा प्रतिबन्धित छ ।‌

लकडाउन भए यता केहि समय देखि गौरीगञ्जको छोटी भन्सार बन्द रहेपनि बैरिया लगायतका नाका हुँदै भारी मात्रामा अबैध सामान नेपाल भित्रिने गरेको गुनासो हरु बारम्बार आउने गरेको छ ।