फागुन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकपछि बिज्ञप्ति जारी गर्दै पार्टी ले सरकार बाट बाहिरिने निर्णय गरेको कुरा जनाएको छ । पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठ द्वारा हस्ताक्षरित बिज्ञप्ति मा लेखिएको छ – राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आज केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको छ बैठकले देहायका निर्णय गरेको छ । शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमतिका बीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर २०७९ पौष १० गते राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको हो । यसै पृष्ठभुमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको छ यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको छ ।

बिज्ञप्ति

यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बाट बाहिरि सकेको छ ।